नेभिगेशन
मनोरञ्जन

‘एआई–मुक्त’ लोगो बनाउने होडबाजी

फिल्मदेखि किताब मात्र होइन, इन्टरनेटमा ह्वारह्वारी एआईले लेखेको वा बनाएका सामग्रीहरूको भिड बढ्न थालेपछि केही सजग व्यक्तिहरूले संसारभर कृत्रिम बौद्धिकता (एआई)लाई परहेज गर्ने उपाय थालेका छन् । एआईको बढ्दो प्रयोगविरुद्ध ‘मानव–निर्मित’ उत्पादन र सेवाहरूका लागि विश्वव्यापीरूपमा मान्यता प्राप्त ‘लेबल’ विकास गर्न थालिएको छ ।
चलचित्र, मार्केटिङ, पुस्तक र वेबसाइटहरूमा अहिले ‘प्राउडली ह्युमन’ (गर्वका साथ मानवद्वारा निर्मित), ‘ह्युमन–मेड’, ‘नो एआई’ र ‘एआई–फ्री’जस्ता घोषणाहरू देखिन थालेका छन् । एआई–सञ्चालित स्वचालन (अटोमेसन) को लहरले धेरैको जागिर वा सिंगो पेसा नै संकटमा पर्ने डरका बीच यस्ता कदमहरू चालिएका हुन् ।
बीबीसी न्यूजका अनुसार, नैतिकरूपमा उत्पादित सामानका लागि ‘फेयर ट्रेड’ लोगोले पाएको जस्तै विश्वव्यापी पहिचान पाउन कम्तीमा आठवटा फरक पहलहरूले यस्ता लेबल बनाउने प्रयास गरिरहेका छन् । तर, धेरै प्रतिस्पर्धी लेबलहरू हुनु र ‘एआई–मुक्त’को परिभाषामा स्पष्टता नहुनुले उपभोक्ताहरू अन्योलमा पर्ने खतरा रहेको विज्ञहरू बताउँछन् ।
म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीकी उपभोक्ता विज्ञ डा आम्ना खान भन्छिन्, ‘एआईले ठूलो हलचल ल्याइरहेको छ र ‘मानव–निर्मित’ के हो भन्ने कुरामा फरक–फरक परिभाषाहरूले उपभोक्तालाई झुक्याइरहेका छन् । विश्वास र स्पष्टता बढाउन एउटा सर्वमान्य परिभाषा आवश्यक छ ।’
फेसन, विज्ञापन, प्रकाशन, ग्राहक सेवा र संगीतजस्ता क्षेत्रमा मानव कार्य र सिर्जनात्मकतालाई ‘जेनेरेटिभ एआई’ले प्रतिस्थापन गर्न थालेपछि यो अभियान सुरु भएको हो । बेलायत, अष्ट्रेलिया र अमेरिकामा रहेका कम्पनी तथा गैर–नाफामूलक संस्थाहरू यस्ता लेबल बनाउन प्रयासरत छन् ।
प्रमाणीकरणले कसरी काम गर्छ ?
केही लेबलहरू (जस्तैः नो–एआई–आइकनडटकम, एआई–फ्रीडटआईओ र नटबाईएआईडटएफवाईआई) जोसुकैले निःशुल्क वा निश्चित शुल्क तिरेर डाउनलोड गर्न सक्छन्, जसमा धेरै परीक्षण वा अडिटको आवश्यकता पर्दैन । अर्कोतर्फ, एआईफ्रीसर्टजस्ता प्रणालीहरूले शुल्क लिने र कुनै उत्पादनमा एआई प्रयोग भएको छ कि छैन भनेर जाँच्न विशेषज्ञ विश्लेषक र एआई पत्ता लगाउने सफ्टवेयर प्रयोग गरी कडा प्रक्रिया अपनाउँछन् ।  
तर, एआई विज्ञहरूका अनुसार कुन कुरालाई वास्तवमै ‘मानव–निर्मित’ मान्ने भन्नेमा उद्योगहरूबीच सहमति जुटाउन जटिल हुनेछ किनभने एआई अहिले धेरै दैनिक उपकरणहरूमा जोड्ने काम भइसकेको छ । एआई अनुसन्धान वैज्ञानिक साशा लुक्सियोनी भन्छिन्, ‘प्राविधिक दृष्टिकोणबाट ‘एआई–मुक्त’ भनेर छुट्याउन गाह्रो छ । एआई एउटा विस्तृत दायरा हो, त्यसैले केवल छ वा छैन भन्नुको सट्टा थप व्यापक प्रमाणीकरण प्रणाली आवश्यक छ ।’
जेनेरेटिभ एआई–मुक्त
कतिपयको विचारमा मानव निर्देशनमा आधारित भएर पाठ, कोड, संगीत वा भिडियो बनाउने ‘जेनेरेटिभ एआई’को प्रयोगलाई आधार मानेर रेखा खिच्नुपर्छ । सन् २०२४ को ह्यु ग्रान्टको थ्रिलर फिल्म ‘हेरेटिक’को अन्त्यमा निर्माताहरूले लेखेका छन्, ‘यो फिल्म बनाउन कुनै पनि जेनेरेटिभ एआईको प्रयोग गरिएको छैन ।’
फिल्म वितरक ‘द मिस एन सिन कम्पनी’ले पनि आफ्नो पछिल्लो फिल्मको पोस्टरमा ‘नो एआई’ छाप लगाएको छ । कम्पनीका सीईओ पल येट्स भन्छन्, ‘हामी एआई उद्योगलाई पनि उत्तिकै सम्मान गर्छौं तर एआई सामग्रीको भीडमा मानव–निर्मित सामग्रीको आर्थिक मूल्य बढी हुन्छ र हामी त्यसैमा जोड दिन चाहन्छौं ।’
एआईको हलचल
कला क्षेत्रमा एआई–निर्मित उत्पादनहरूको बाढी आएको छ । एआईको प्रयोग गरेर पुस्तक र फिल्महरू परम्परागत विधिभन्दा धेरै छिटो र सस्तोमा बनाइँदैछन् । बलिउड फिल्म स्टुडियो ‘इटेलिफ्लिक्स’ ले एआईबाट फिल्म बनाउने कुरामा गर्व गर्छ तर कहिलेकाहीँ एआईमा आधारित उत्पादनहरूबारे उपभोक्तालाई स्पष्ट जानकारी दिइँदैन । गत वर्ष भाइरल भएको ब्यान्ड ‘भल्भेट सन्डाउन’ पूर्णरूपमा एआई रहेको पछि मात्र खुल्यो ।
प्रकाशन क्षेत्रमा पनि ठूलो कम्पनी ‘फेबर एण्ड फेबर’ले आफ्ना केही पुस्तकहरूमा ‘ह्युमन रिटन’ (मानवद्वारा लिखित) छाप लगाउन थालेको छ । लेखिका सारा हलले आफ्नो उपन्यास ‘हेल्म’मा यो छाप लगाउन अनुरोध गरिन् । उनले एआई मोडलहरूलाई तालिम दिन पुस्तकहरू प्रयोग गरिनुलाई ‘ठूलो स्तरको सिर्जनात्मक चोरी’ भनेकी छन् ।
बेलायती कम्पनी ‘बुक्स बाइ पिपुल’का सह–संस्थापक एस्मे डेनिस भन्छन्, ‘प्रकाशकहरू यस्तो नयाँ परिस्थितिमा छन् जहाँ पुस्तकहरू महिना वा वर्षको सट्टा मिनेटमै तयार हुन सक्छन् र पाठकहरूले यो पुस्तक मानव अनुभव हो कि मेसिनको नक्कल हो भनेर छुट्याउन सक्दैनन् ।’
अष्ट्रेलियामा ‘प्राउडली ह्युमन’ नामक कम्पनीले लेखकहरूले जेनेरेटिभ एआई प्रयोग नगरेको सुनिश्चित गर्न कडा प्रणाली अपनाएको छ । कम्पनीका प्रमुख एलन फिंकेल भन्छन्, ‘स्व–घोषणा मात्र पर्याप्त छैन, त्यसैले हामी पूर्ण प्रमाणीकरण प्रक्रिया अपनाउँछौं ताकि त्यो सामग्री वास्तवमै मानवबाटै सिर्जना भएको होस् भन्ने निश्चित होस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्