कन्नड चलचित्र ‘केडीः द डेभिल’ को गीत ‘सरके चुनर तेरी सरके’ विवादमा तानिएको छ । विवाद चर्किएपछि भारत सरकारले यसलाई सबै प्लेटफर्मबाट हटाएर प्रतिबन्ध लगाएको छ ।
नोरा फतेही र सञ्जय दत्त फिचर गरिएको यस गीतको ‘अश्लील’ शब्दहरूलाई लिएर सामाजिक सञ्जालमा मानिसहरूले कडा विरोध जनाएका थिए ।
गत एक हप्तामा यो मामला यति बढ्यो कि राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानूनी नोटिस पठायो । राष्ट्रिय महिला आयोगले पनि चलचित्रका कलाकार र निर्माताहरूलाई आफ्नो अगाडि उपस्थित हुन नोटिस जारी गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार अलीगढको संगठन ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोरा फतेहीविरुद्ध फतवा नै जारी गरेको छ ।
चलचित्रसँग आबद्ध विभिन्न कलाकारहरूले गीतको शब्दलाई लिएर खेद प्रकट गरेका छन् ।
गायिका माङ्लीले सामाजिक सञ्जालमार्फत माफी माग्दै गीतको नयाँ भर्सन ल्याउने वाचा गरेकी छन् । गीतकार रकिब आलमले भने पूरा गीतमा एउटा पनि मौलिक शब्द आफ्नो नभएको र आफूले कन्नडबाट हिन्दीमा अनुवाद मात्र गरेको बताएका छन् ।
यता अभिनेत्री नोरा फतेहीले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै आफूले यो गीत कन्नड भाषामा सुट गरेको र शब्दहरूको अर्थ थाहा नभएको बताएकी छन् ।
उनले भनिन्, ‘मैले हिन्दी अनुवाद सुन्नेबित्तिकै मेरा कान ठाडा भए । मलाई थाहा थियो गीतको शब्दमा आपत्ति आउनेछ । मैले यही कुरा निर्देशकलाई पनि भनेकी थिएँ र यो गीतलाई मैले कतै पनि प्रवर्धन (प्रमोट) गरिनँ ।’
गीतमाथि प्रतिबन्ध
गीतलाई लिएर विवाद यति बढ्यो कि यो विषय संसद्मै पुग्यो । कानून निर्माताहरूले भारतीय लोकसभामा जमेर गीतका बारेमा कुरा गरे ।
मार्च १७ मा मानव अधिकार आयोगले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) का अध्यक्ष प्रसून जोशी, सूचना तथा प्रसारण मन्त्रालयका सचिव र गुगल इन्डियालाई कानूनी नोटिस जारी ग¥यो। यसपछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्रीले संसद्मा यो गीतलाई सबै भाषामा र हरेक प्लेटफर्मबाट हटाउने घोषणा गरे ।
यसैबीच, सेन्सर बोर्ड (सीबीएफसी)ले चलचित्र रिलिज हुनुअघि गीत स्वीकृतिका लागि नपठाएको र इन्टरनेटमा उपलब्ध सामग्रीमा आफ्नो सिधा नियन्त्रण नहुने बताएको छ ।
सीबीएफसीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘सीबीएफसी एक जिम्मेवार र सजग संस्था हो। यसका सदस्यहरू सिनेमामा महिलाको चित्रणलाई गम्भीरतापूर्वक लिन्छन् र विवादलाई संवादको दिशामा लैजाने प्रयास गर्छन् ।’
सीबीएफसीको वेबसाइटका अनुसार जब कुनै चलचित्र प्रमाणीकरणका लागि आवेदन दिइन्छ, तब गीत, त्यसको शब्द र टाइम कोड पनि क्लियरन्सका लागि बुझाउनुपर्ने हुन्छ ।
भारतमा आइटम गीतमाथि प्रतिबन्ध लागेको यो पहिलो पटक भने होइन । हालै गायक बादशाहको हरियाणवी गीत ‘तातीरी’लाई पनि सबै प्लेटफर्मबाट हटाइएको थियो । यसअघि चलचित्र ‘खलनायक’ (१९९३) र ‘राजा बाबु’ (१९९४) का गीतहरूलाई अल इन्डिया रेडियो र दूरदर्शन जस्ता सरकारी प्लेटफर्ममा प्रसारण गर्न रोक लगाइएको थियो ।
बलिउडमा ‘आइटम नम्बर’
बलिउडमा ‘आइटम नम्बर’को चलन निकै पुरानो छ । पत्रकार तथा चलचित्र समीक्षक सुपर्णा शर्माका अनुसार ४० को दशकमा पुरुष कलाकारहरू महिलाको भेषमा नाच्ने गर्थे । त्यसपछि सन् १९४० र ५० को दशकमा अभिनेत्री कुकुले ‘पतली कमर है’ (बरसात, १९४९) र ‘बेचैन दिल खोई सी नजर’ (यहूदी, १९५८) जस्ता हिट गीतहरूमा नृत्य गरेकी थिइन् ।
शर्माले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘कुकुको समयपछि हेलनले ‘डान्सिङ क्विन’ को रूपमा बलिउडमा राज गरिन्, तर उनलाई कहिल्यै ‘आइटम गर्ल’ भनिएन ।’ हेलनको पालामा ‘ये मेरा दिल प्यार का दिवाना’ (डन, १९६७) र ‘पिया तु अब तो आजा’ (कारवाँ, १९७१) जस्ता थुप्रै हिट गीतहरू आएका थिए ।
‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’ मा प्रकाशित एक लेखका अनुसार बलिउडमा ‘आइटम नम्बर’ शब्दको प्रयोग सन् १९९० को दशकबाट सुरु भएको हो । मलाइका अरोडा खानको ‘छैयाँ–छैयाँ’ गीतपछि यो शब्द चर्चामा आएको थियो ।
चेन्नईका चलचित्र समीक्षक रमेश बालाका अनुसार आजभोलि अभिनेत्रीहरू ‘आइटम नम्बर’ भन्नुको साटो ‘स्पेशल सङ’ भन्न रुचाउँछन् । पहिले दक्षिण भारतीय सिनेमामा पनि नाम चलेका अभिनेत्रीहरू यस्ता गीतमा नाच्दैनथे । सिल्कर स्मिता वा डिस्को सान्ति जस्ता डान्सरहरू मात्र यस्ता भूमिकामा देखिन्थे ।
उनले भने, ‘पहिले यस्ता गीत बन्दैनथे भन्ने होइन तर त्यतिबेलाका गीतकारमा कला हुन्थ्यो र उनीहरू शब्दको खेलमा धेरै कुरा लुकाउँथे । आजकलका शब्द र दृश्यहरू निकै सीधा र अश्लील (भल्गर) भएका छन् ।’
के भन्छ युवापुस्ता ?
यस गीतको विवादपछि बीबीसी हिन्दीले निर्माता, समीक्षक र युवापुस्तासँग कुरा गरेको थियो ।
समीक्षक इशिता सेनगुप्ता भन्छिन्, ‘यस्ता गीतहरू चलचित्रप्रति आकर्षण बढाउन लेखिन्छन् । यदि गीतको शब्द यति विवादित नभएको भए चलचित्र ‘केडीः द डेभिल’ को यति धेरै चर्चा हुने थिएन ।’
निर्देशक अविनाश दासका अनुसार ‘सरके चुनर तेरी’ का शब्दहरू निकै खराब छन् र तिनमा कुनै सौन्दर्य छैन । उनी थप्छन्, ‘आजकलको पार्टी कल्चरमा मानिसहरूलाई शब्दभन्दा पनि ठूलो आवाजको संगीतले बढी अर्थ राख्छ ।’
दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूले पनि यसमा आफ्नो धारणा राखेका छन्। राजनीति शास्त्रकी छात्रा कोमल भन्छिन्, ‘नाच्ने गीतको धुन ऊर्जावान् भए पनि शब्दहरू भने निन्दनीय छन् ।’
उनकै साथी अनुष्काले थपिन्, ‘नोरा फतेहीको यो नयाँ गीतको शब्द निकै खराब छ। यसमा प्रतिबन्ध लगाउनु बिल्कुल सही हो ।’ अंग्रेजी साहित्यकी छात्रा रूपाली भन्छिन्, ‘जुन देशमा लैंगिक संवेदनशीलता बुझ्न जरुरी छ, त्यहाँ यस्ता गीत किन बन्छन् ? यस्ता गीत त लेखिनु नै हुँदैन ।’
यद्यपि, केही विद्यार्थीहरूले भने प्रतिबन्धको विरोध पनि गरेका छन् । छात्र राहुल भन्छन्, ‘मलाई त यस्ता डान्स नम्बरहरू निकै मन पर्छ । जसलाई सुन्न मन छैन, उनीहरूले नसुने भइहाल्यो नि !’