नेभिगेशन
स्वास्थ्य

तन्नेरीलाई ११ थरीका क्यान्सरको घेराबन्दी

बेलायतमा गरिएको एउटा बृहत् अध्ययनले युवापुस्तामा ११ प्रकारका क्यान्सर तीव्र रूपमा बढिरहेको देखाएको छ । अहिलेसम्म क्यान्सरको दर किन बढिरहेको छ भन्ने स्पष्ट कारण भने फेला पर्न सकेको छैन । यद्यपि, विगत दशकौँदेखि मानिसहरूमा बढ्दै गएको मोटोपनले यसमा केही भूमिका खेलेको हुन सक्ने उक्त अध्ययनले औंल्याएको छ । तर यो नै सम्पूर्ण कारण भने नभएको वैज्ञानिकहरुको तर्क छ ।
इन्स्टिच्युट अफ क्यान्सर रिसर्च र इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूका अनुसार युवाहरूमा क्यान्सर देखिनु अझै पनि दुर्लभ नै मानिन्छ । स्वस्थ जीवनशैली अपनाएर क्यान्सरको जोखिम कम गर्न सकिनेमा उनीहरूले जोड दिएका छन् । किशोर अवस्थाको अन्त्य र २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा क्यान्सर किन बढ्दै छ भन्ने प्रश्नले वैज्ञानिकहरूलाई वर्षौँदेखि अलमलमा पारेको छ ।
यस्तै एउटा दुखद् उदाहरण पोट्र्समाउथका ब्राडली कुम्ब्स हुन् । उसको २३ वर्षको उमेरमा आन्द्राको क्यान्सर (बाउल क्यान्सर) का कारण मृत्यु भयो । उनकी आमा क्यारोलिन माउसडेलका अनुसार ब्राडलीमा क्यान्सरका धेरै लक्षणहरू देखिएका थिए, तर उमेर सानै भएको भन्दै चिकित्सकहरूले उनको समस्यालाई गम्भीरतापूर्वक लिएनन् । व्यावसायिक फुटबल खेल्ने तयारीमा रहेका ब्राडली निकै तन्दुरुस्त र स्वस्थ थिए । उनलाई क्यान्सरको जोखिममा पार्ने कुनै स्पष्ट कारण थिएन ।
विश्वविद्यालयको पहिलो वर्ष पूरा गरेपछि उनको तौल ह्वात्तै घट्न थाल्यो र पेट दुख्ने समस्या देखियो । त्यसपछि उनलाई पखाला लाग्ने र दिसामा रगत देखिने समस्या भयो । यी लक्षणहरू देखिएको १८ महिनापछि मात्र उनको रोग पत्ता लाग्यो । जब उनको कोलोनोस्कोपी गरियो, त्यतिबेला क्यान्सरको ट्युमर यति ठूलो भइसकेको थियो कि क्यामेरा पेटभित्र छिराउन समेत मुस्किल भयो । शल्यक्रिया र केमोथेरापीले पनि ट्युमरलाई रोक्न सकेन र अन्ततः ब्राडलीको मृत्यु भयो ।
ब्राडलीकी आमा क्यारोलिन भन्छिन्, ‘हरेक अभिभावकले जस्तै मैले पनि मेरो छोराले फुटबलमा आफ्नो सपना पूरा गर्नेछ र राम्रो जीवन जिउनेछ भन्ने सोचेकी थिएँ । तर सानै उमेरमा हुने आन्द्राको क्यान्सर समयमै पहिचान हुन नसक्दा सबै सपना खोसिए ।’
आखिर कसैलाई किन क्यान्सर हुन्छ भन्ने कुरा थाहा पाउन कठिन हुन्छ । तर वैज्ञानिकहरूको टोलीले राष्ट्रियस्तरको तथ्याङ्क र जीवनशैलीको अध्ययन गरी एउटा निष्कर्ष निकाल्ने प्रयास गरेको छ । उनीहरूका अनुसार आन्द्राको क्यान्सरका साथै थाइराइड, मल्टिपल माइलोमा, कलेजो, मिर्गौला, पित्तथैली, प्यान्क्रियाज, पाठेघरको पत्र, मुख, स्तन र डिम्बाशयको क्यान्सर बढ्दै गएको पाइएको छ ।
युवाहरूमा आन्द्रा र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । अहिले त वार्षिक ११ हजार ५ सय नयाँ बिरामीहरू थपिन थालेका छन् । प्यान्क्रियाज र पित्तथैलीको क्यान्सर भने कमैलाई हुन्छ । आन्द्रा र डिम्बाशयको क्यान्सर युवाहरूमा मात्र बढिरहेको छ भने अन्य नौ प्रकारका क्यान्सर वृद्धवृद्धाहरूमा पनि बढ्दो क्रममा छ ।
अध्ययनले क्यान्सरको जोखिम बढाउने मानिने धूम्रपान, मद्यपान, शारीरिक व्यायामको कमी र रातो मासुको उपभोगजस्ता बानीहरूको पनि विश्लेषण गरेको थियो । तर यी बानीहरूमा या त सुधार आएको छ वा पहिलेकै अवस्थामा स्थिर छन् । तसर्थ, युवाहरूमा क्यान्सर बढ्नुको मुख्य कारण यी मात्र होइनन् ।
प्रतिवेदनका अनुसार क्यान्सर बढ्नु र मानिसको तौल बढ्नु बीचको तथ्याङ्क मात्र एकआपसमा मेल खान्छ । शरीरमा हुने अनावश्यक बोसोले इन्सुलिनजस्ता हर्मोनमा परिवर्तन ल्याउँछ। त्यसले क्यान्सरको जोखिम बढाउन सक्छ । यद्यपि यो पनि पूर्ण जवाफ भने होइन । उदाहरणका लागि, आन्द्राको क्यान्सरका १०० नयाँ बिरामीमध्ये २० जनामा बढी तौलका कारण क्यान्सर भएको हुन सक्छ भने बाँकी ८० जनाको कारण अझै अज्ञात छ ।
अनुसन्धानकर्ताहरूका अनुसार सबै प्रकारका क्यान्सर रोकथाम गर्नु उत्तिकै महŒवपूर्ण छ । विश्वभर हुने क्यान्सरमध्ये झण्डै ४० प्रतिशत क्यान्सर धूमपान नगर्ने जस्ता स्वस्थ जीवनशैली अपनाएर रोक्न सकिन्छ । बीबीसीसँग कुरा गर्दै प्राध्यापक मोन्टसेराट गार्सिया क्लोसासले युवाहरूमा क्यान्सर बढ्नु चिन्ताको विषय भए पनि स्वस्थ तौल र सक्रिय जीवनशैलीले यसलाई कम गर्न सकिने बताइन् ।
युवाहरूमा क्यान्सर बढेको देखिए पनि वृद्धवृद्धाहरूको तुलनामा यो अझै निकै कम छ । २० देखि ४० वर्षका एक हजार युवामध्ये एक जनामा क्यान्सर देखिन्छ भने ५० देखि ७० वर्षका १०० मध्ये एक जनामा यो रोग देखिने गरेको छ ।
वैज्ञानिकहरू क्यान्सरका अन्य जोखिम तत्वहरूको खोजीमा छन् । अति–प्रशोधित खाना, खतरनाक रसायन र एन्टिबायोटिकको प्रयोगबारे पनि छलफल भइरहेको छ । चिनीयुक्त पेय पदार्थ, शरीरको जलन, वायु प्रदूषण र पेटमा हुने ब्याक्टेरिया जस्ता विषयलाई पनि यसको कारक मानिएको छ । यसका साथै क्यान्सर परीक्षण प्रविधिमा भएको सुधारका कारण पनि सानै उमेरमा रोग पत्ता लाग्ने दर बढेको हुन सक्ने अनुमान गरिएको छ ।
यो अनुसन्धान ‘बीएमजे अन्कोलोजी’ जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्