नेभिगेशन
दृष्टिकोण
सन्दर्भः गुरु पूर्णिमा

गुरु पूर्णिमा र गुरुको महिमा

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परंब्रह्म तस्यै श्रीगुरुवे नमः ।।

यो संसारमा गुरुको महिमा अत्यन्तै ठूलो छ । गुरुको स्थान सर्वोपरी छ । त्यसैले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मान्ने गरिएको हो । गुरु पूर्णिमाका दिन सम्पूर्ण शिष्यहरूले आफ्ना गुरुलाई श्रद्धापूर्वक मान्ने गर्छन् । गुरुलाई मिठाई, फलफूल तथा उपहार दिनुका साथै गुरुलाई ईश्वरकै रूप मानी टीका र फूलमाला पनि लगाइदिने चलन छ । त्यस्तै गुरुले पनि आफ्ना चेलाहरूलाई आशीर्वाद दिने गर्छन् । 
यो विश्व ब्रह्माण्डमा सम्पूर्ण चराचर जगत्की प्रथम गुरुचाहिँ जन्म दिने आमा नै हुन् । आमाले नै आफ्ना बालबच्चालाई जन्म दिएलगत्तै खान सिकाउने, बोल्न सिकाउने र हिँड्न सिकाउने गर्छिन् । यो सबै जीव तथा पशुपन्छीका आमाहरूले आफ्ना बच्चाहरूलाई सिकाउने गर्छिन् । मानिसमा पनि जन्मिनेबित्तिकै बच्चालाई दूध खुवाउँदै आमाले हाँस्न सिकाउने, तोते बोली सिकाउने, ताते गर्दै हिँड्न सिकाउनेलगायत सम्पूर्ण कार्य गर्न सिकाउँछिन् । त्यसैले प्रथम गुरु नै जन्म दिने आमा हुन् । त्यसो हुनाले आमा पनि शिक्षित हुनुपर्छ । हुन त बच्चाले गर्भमै सिक्न थालिसकेको हुन्छ । गर्भमा रहेका बच्चाले आफ्ना आमाबाबुले र अरूले कुरा गरेको शब्द सुनेको हुन्छ र त्यसैको प्रभाव परेको हुन्छ । आफ्ना आमाबाबुको कस्तो संस्कार छ सोहीअनुसारको प्रभाव गर्भैदेखि बच्चामा परेको हुन्छ । बच्चा जन्मेपछि आमाले जे–जे सिकाउँछिन् त्यही–त्यही बच्चाले सिक्ने गर्छ । त्यसैले आमाले आफ्नो बच्चालाई यो राम्रो, यो नराम्रो, यसो गर्नु हुन्छ, यसो गर्नु हुँदैन भन्ने जस्ता विभिन्न कुरा सिकाएर संस्कारित तुल्याउने काम सर्वप्रथम आमाले नै गरिरहेकी हुन्छिन् । त्यसपछि स्कूलमा पढ्न सिकाउने गुरु, शिक्षक–शिक्षिकाले पनि असल ज्ञान र नैतिक शिक्षा दिएर शिष्यलाई अनुशासित बनाउँदै योग्य व्यक्तिका रूपमा विकास गराउँछन् । त्यसैले गुरुलाई सम्मान गर्ने भनेकै गुरुले दिएको ज्ञानलाई मान्नु हो । गुरुलाई सम्मान गर्नु शिष्यहरूको कर्तव्य हो भने शिष्यहरूलाई असल शिक्षा दिएर सुयोग्य बनाउनु गुरुको  कर्तव्य हो । विद्यार्थीले पढ्न सकेनन् र असफल भएमा शिक्षकले राम्ररी पढाउन नसकेको ठहर्छ भन्ने सिद्धान्तलाई मनन गरेर आजका शिक्षहरूले विद्यार्थीहरूलाई यथासक्य ध्यान दिएर पढाउनुपर्छ भने विद्यार्थीहरूले पनि शिक्षकको मानमर्यादा ख्याल राख्नुपर्छ र आफ्नो पढाइमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । 
    सनातन वैदिक युगमा गुरुकुलको व्यवस्था गरिएको हुन्थ्यो । त्यस समयमा राजा, महाराजाका छोराहरूले पनि त्यही गुरुकुलमा गई वर्षौंसम्म शिक्षादीक्षा आर्जन गर्नुपथ्र्यो । राजा दशरथका छोराहरू श्रीराम, भरत, लक्षण र शत्रुघ्न अनि वासुदेव र देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राह्मण सुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रको ज्ञान आर्जन गरेका थिए । 
    त्यसबेलामा देवता र दानवहरूका पनि गुरु थिए । गुरु बृहस्पति, गुरु शुक्राचार्य, गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वर जस्ता महान् गुरुहरू रहेका थिए । राजा दशरथका चार छोराहरूका कुलगुरु वशिष्ठ हुन् । राम र लक्ष्मणका विभिन्न विद्याका गुरु विश्वामित्र हुन् । लवकुशका धनुर्विद्यालगायत अन्य विद्याका गुरु वाल्मीकि हुन् । कृष्णका गुरु सन्दिपनी हुन् । महाभारतका भीष्म र द्रोणका गुरु पर्शुराम हुन् भने उनीहरूका कुलगुरु कृपाचार्य हुन् । पशुपतिनाथका गुरु दत्तात्रय हुन् । दत्तात्रयका २४ जना गुरु छन् । गुरुका पनि गुरु दत्तात्रयले प्रकृति, पशुपन्छीलगायत सबैलाई आफ्ना गुरु बनाएका छन् । जस्तै पृथ्वी, पतंगा, पिंगला, वेश्या, वायु, परेवा, मृग, समुद्र, हात्ती, आकाश, जल, माछा, माहुरी, आगो, चन्द्रमा, बलाक, कुमारी कन्या, अजिंगर र भँवरा जस्तालाई पनि दत्तात्रयले गुरु बनाएका छन् । 
    आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन परम गुरु वेदव्यासको जन्म भएको हो । त्यसैले यस गुरु पूर्णिमालाई व्यास जन्मजयन्ती पनि भनिन्छ । सर्वप्रथम महर्षि व्यासले सामवेद, यजुर्वेद, ऋग्वेद र अथर्ववेद नामक ४ वेद र १८ पुराण लेखेर लोककल्याणका लागि महान् कार्य गरेका थिए । वेदव्यास गुरुका पनि गुरु हुन् । वेदव्यासले धेरै ऋषिमुनिहरूलाई शिक्षा दिएर परम गुरु बनेका थिए । जब वेदव्यासले ४ वेद, १८ पुराण लेखेको खबर पाए तब ती सबै ऋषिमुनिहरू धेरै नै हर्षित भए । तर एउटा चिन्ता ती ऋषिहरूमा प¥यो । त्यो के हो भने कोही ९० वर्ष, कोही १०० वर्ष पुगिसकेका ती ऋषिहरूले बैठक बोलाएर परम गुरु वेदव्यासलाई प्रमुख अतिथि बनाउँदै आग्रह गरे कि हजुरले ४ वेद, १८ पुराण लेख्नुभयो लोक कल्याणका लागि, त्यो अत्यन्तै सराहनीय कार्य हो तर हाम्रो उमेर धेरै भइसकेको हुँदा पढ्न भ्याउँदैनांै वा पाउँदैनांै । त्यसैले अब हजुरले ४ वेद, १८ पुराणको सारतत्व बताइदिनुहोस् भनेर ती सबै ऋषिहरूले आग्रह गरे । तब वेदव्यास पनि एकछिन त घोरिए । अनि के भनुँ सारतत्व भन्दै विचार गर्दागर्दै एक श्लोक वेदव्यासले बोले, ‘परोपकार पुण्याय पापाय पर पिडनम्’ । यही हो सारतत्व ४ वेद, १८ पुराणको सार तत्व भन्दै वेदव्यासले त्यहाँ उपस्थित सबै ऋषिमुनिहरूको चित्त बुझाए । 
यस संसारमा सबैको कोही न कोही गुरु अवश्य नै हुन्छ । गुरुबिनाको मानिसलाई अशुद्ध मानिन्छ । एक पटकको कुरा हो महर्षि नारद विष्णु भगवान्लाई भेट गर्न गए । विष्णु भगवान्ले उनको बहुतै सम्मान गरे । जब नारद फर्केर गए तब विष्णुले लक्ष्मीलाई भने जुन स्थानमा नारद बसेका थिए त्यस स्थानमा गाईको गोबरले लिपिदिनु । नारद बाहिरै उभिरहेका थिए । उनले सबै कुरा सुनेर फर्की आए र विष्णु भगवान्सँग भने– हे भगवान् जब म यहाँ आएँ हजुरले मेरो खुब सम्मान गर्नुभयो तर जब म फर्केर जाँदै थिएँ हजुरले लक्ष्मीजीलाई किन भन्नुभयो कि जुन स्थानमा नारद बसेको थियो त्यहाँ गोबरले लिपिदिनु । 
विष्णु भगवान्ले भने, ‘नारद मैले तपाईंको सम्मान यस कारण गरें कि तपाई देव ऋषि हुनुहुन्छ अनि मैले देवी लक्ष्मीलाई यस कारण त्यो काम अह्राएँ कि तपाईंको कोही गुरु छैन । तपाईं बिनागुरुको हुनुहुन्छ । जुन स्थानमा कोही बिनागुरुको व्यक्ति बस्छ त्यस ठाउँ अपवित्र हुन्छ ।’ भगवान्को कुरा सुनेर नारदले भने, ‘हे भगवान् हजुरको कुरा एकदम सत्य छ तर मैले गुरु कसलाई बनाऊँ ?’ तब विष्णु भगवान्ले भने, ‘हे नारद अहिले धरतीमा जानोस् र जो व्यक्ति सबैभन्दा पहिला भेटिन्छ उसैलाई गुरु मान्नुस् ।’
नारद जब धरतीमा आए उनले सबैभन्दा पहिला एक जना माझी भेटे । तब नारद फर्केर गई विष्णु भवगान्सँग भन्न थाले, ‘हजुर त्यो त माझी हो केही पनि जान्दैन, उसलाई मैले कसरी गुरु मान्न सक्छु ?’
    त्यो सुनेर भगवान्ले भने, ‘हे नारद आफ्नो प्रण पूरा गर्नोस् ।’ नारद फर्की आए र त्यस माझीलाई मेरो गुरु बनिदिनुप¥यो भनी अनुरोध गरे । पहिला त त्यस माझीले मानेन तर नारदले धेरै नै अनुनय–विनय गरेपछि माझी मान्यो । माझीलाई राजी गराएर गुरु भनिसकेपछि नारद फर्केर फेरि भगवान् विष्णुकहाँ गएर भने, ‘हे भगवान् मेरो गुरुलाई त केही पनि आउँदैन । उसले मलाई के सिकाउला ?’ यो सुनेर विष्णु भगवान् क्रोधित भएर भने, ‘हे नारद गुरु निन्दा गर्नु हुन्छ ? म तपाईंलाई श्राप दिन्छु कि तपाईं ८४ लाख योनिमा घुम्नु परोस् ।’
    विष्णु भगवान्को यस्तो श्राप सुनेर नारदले दुवै हात जोडेर भने, ‘हे भगवान् यो श्रापबाट बच्ने उपाय पनि बताइदिनोस् ।’ भगवान् विष्णुले भने– यसको उपाय आफ्नै गुरुदेवसँग गएर सोध्नुहोस् । नारदले यी सबै कुरा आफ्ना गुरुदेवलाई भन्न गए । तब गुरुले भने कि विष्णु भगवान्सँग धरतीमा ८४ लाख योनिको तस्वीर बनाइदिनोस् भन्नुस र त्यसपछि त्यसमा सुतेर गोलगोल घुम्नुहोस् र विष्णु भगवान्सँग भन्नुस् कि मैले ८४ लाख योनि घुमेर आएँ र मलाई क्षमा गरिदिनोस् । अब फेरि मैले गुरु निन्दा गर्दिन । 
नारदले विष्णु भगवान्कहाँ गएर त्यस्तै भने, भगवान्ले धरतीमा बनाइदिएको ८४ लाख योनिको चित्रमा पल्टेर घुमेर भने– भगवान् मलाई माफ गर्नुहोस आइन्दा मैले गुरु निन्दा गर्ने छैन । यो सुनेर विष्णु भगवान्ले भने, ‘देख्नुभयो जुन गुरुको निन्दा गरिरहनुभएको थियो उनैले मेरो श्रापबाट बचाइदिए । त्यसैले भन्न सकिन्छ गुरुको महिमा अपरम्पार छ ।’
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण