मानिस जाति अमर होइन, यस धर्तीमा आएपछि एकदिन मर्नैपर्छ । स्वाभाविक कालगतिले, रोगब्याधि लागेर मृत्यु हुनु स्वाभाविक पनि होे । तर, अचानक आत्महत्या गर्ने काम अकाल मृत्युवरण गर्नु हो जुन कर्मलाई हाम्रो धर्मशास्त्रले महापाप भनेको छ । व्यक्तिको जीवन उसको निजी भए तापनि हाम्रो हिन्दु संस्कृतिमा व्यक्ति यसरी गाँसिएको हुन्छ कि उसले सामाजिक र पारिवारिक दायित्वबाट पन्छिन मिल्दैन । किनभने ऊ पारिवारिक सम्बन्धले अनेक दायित्व निर्वाह गर्नुपर्ने गरी बाँधिएको हुन्छ ।
यस्तो उत्तरदायित्वपूर्ण पारिवारिक जीवनलाई महŒव नदिई अचेल आत्मदाह, आत्महत्या जस्ता अप्रिय दुष्कार्यहरू समाजमा निकै हुने गरेका छन् । मनोचिकित्सकहरूका अनुसार जब व्यक्तिले आफ्नो सामाजिक, पारिवारिक सम्बन्ध र दायित्वमा परेको असह्य चोट तथा पेशा व्यवसायमा भएको क्षतिको पूर्तिका लागि यावत् प्रयास गर्दा समेत असफल भएपछि उसको आँखाअगाडि अँध्यारो छाउँछ र सकारात्मक सोच्न छाड्छ । नाता सम्बन्ध र दायित्वसमेत बिर्सन्छ अनि डिप्रेशनमा जान्छ । उक्त व्यक्तिले समयमै मनोचिकित्सा प्राप्त गर्न सकेन भने आफूलाई नैै सिध्याउने प्रयास गर्छ ।
नेपालमा आत्महत्याका प्रयासहरू बढ्दै गएको देखिन्छ । हालै त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपाली जो मोटरसाइकलमा राइड शेयरिङको काम गर्ने गर्थे, उनले केही बेरका लागि त्यहाँ मोटरसाइकल पार्क गर्न खोजेका थिए । उनी पार्क गरेर कतै गइसकेका थिएनन् । नगरप्रहरीले यहाँ पार्क गर्न नमिल्ने भनेका थिए । तर उनले एकैछिन पार्क गर्न अनुनय गरेका थिए । पार्क गर्न निषेध छ र एकैछिनलाई पार्क गर्न पाऊँको संवादकै बीचमा नगरप्रहरीले मोटरबाइकको ह्वील लक गरिदिएछ । ह्वील लक गरेपछि नियमले हजार रूपैयाँ जरिवाना तिर्नुपर्छ । सवारीसाधन मालिक पार्क गरी अन्यत्र हिँडेको अवस्थामा ह्वील लक गर्नु नियमसंगत हो तर मालिक त्यहाँ छँदाछँदै ह्वील लक गर्नु नियमसंगत देखिँदैन । नगरप्रहरीको यो कार्य सरासर गलत हो ।
दुर्गम जिल्ला मुगुका युवा गणेश नेपाली आफ्नी श्रीमती र एउटा नाबालक सन्तानको जीविकोपार्जनका लागि राइड शेयरिङको काम गरिरहेका थिए । सो व्यवसायबाट दिनभरिमा हजार पन्ध्र सय कमाउनेले हजार रूपैयाँ तिरेर लक खोल्न लगाउँदा ती नाबालक शिशु र श्रीमतीलाई के खुवाउने भन्ने समस्याले उनलाई चिन्ता परेको थियो । दैनिक बिहानदेखि बेलुकासम्म राइड शेयरिङको काम गर्नेलाई यस्ता समस्याले पिरोल्ने गर्छ नै । गणेश नेपाली यस्ता समस्याबाट पीडित भइरहेको सायद यो पहिलो घटना होइन । बारम्बार यस्ता समस्याको सामना गर्नुपर्ने भएर उनले सोही मोटरसाइकलको पेट्रोल झिकी आफ्नै शरीरमा खन्याएर आत्मदाह गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । आाधाभन्दा बढी भाग जलेको अवस्थामा उनलाई वीर अस्पताल पु¥याए पनि उनको जीवन रक्षा हुन सकेन । उनले मुक्ति पाए तर श्रीमती र नाबालक सन्तानको बिचल्नी भयो । सरकारले सहानुभूति स्वरूप उनको परिवारलाई केही राहत दिने निर्णय गरेको छ ।
तर सोचनीय कुरा के हो भने सरकारले सहानुभूति बाँड्ने अवस्था किन सिर्जना भइरहेछ ? हिजोको सामन्तवादी सामाजिक व्यवस्था र सरकारको व्यवहारबाट आजसम्म पनि समाज र नागरिकले किन मुक्ति पाउन नसकेको ? संविधानमा विभेदरहित समतामूलक समाज निर्माण गरी सामाजिक न्याय प्रदान गरिने व्यवस्था गरिएको छ । तर व्यवहारमा भने नागरिकले स्वस्फूर्तरूपमा जीवनयापन गर्न पााएका छैनन् । गणेश नेपाली जस्ताको आत्मदाहले यही सन्देश प्रवाह गरेको छ । दुई दिनभित्र मुगुका गणेश नेपाली, बुद्धनगरका अस्मिन राउत र रौतहटका विवेक मण्डलले सार्वजनिक जीवनदेखि विरक्तिएर जीवन समाप्त पार्न आत्मदाह गरेका हुन् ।
नागरिकलाई राज्यबाट समतामूलक व्यवहार त परैको कुरा हो, प्रचलित नियमकानुनले पनि सम्बोधन गर्न छाड्छ अनि उसले आफूलाई दोस्रो दर्जाको नागरिक ठान्छ र उपेक्षित महसुस गर्न थाल्दछ । यस्तो अवस्थामा टाठाबाठा र सक्नेले बाँच्नका लागि पहुँचरूपी भ¥याङ खोजेर आफ्नो जीविका चलाइरहेका हुन्छन् । तर, सोझासाझाहरू दबाब र प्रभाव सहन गर्न नसकी निराश बन्छन् । उनीहरूमा माथिल्लो भ¥याङसम्म पुग्ने क्षमता हुँदैन । यस्तोमा व्यक्ति निस्सासिन्छ । विवेकको ढोका बन्द हुन जान्छ र व्यक्तिले आफंैलाई सिध्याउन पुग्छन् ।
विगतमा पुराना दलहरूका नेताहरू लोकतन्त्ररूपी रथका सारथी हुँदा सामन्ती सोचबाट माथि उठ्न सकेनन् । आफूलाई शासक र बाँकीलाई शासितको व्यवहारभन्दा फरक गरेनन् । लोकतन्त्रका सारथीहरूले लोकको सेवकझैं व्यवहार गरी सेवा प्रवाह गर्नुपर्छ । लोकतन्त्रमा जनता नै सार्वभौम अधिकारसम्पन्न हुन्छन् । लोक (नागरिक) हरूले चुनेर पठाएका प्रतिनिधिहरूले नै सरकार निर्माण गर्छन् । यस हिसाबले सरकार जनताको हो । जनताको सरकारले जनताकै लागि काम गर्नुपर्छ । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले अमेरिकामा जारी रहेको गृहयुद्धलाई शान्त पार्न सन् १८६३ नोभेम्बर १९ मा गेटीसवर्गमा दिएको वक्तव्यमा भनेका थिए, लोकतान्त्रिक शासन प्रणाली अब उप्रान्त जनताकै लागि अनि जनताद्वारा नै सञ्चालित हुनेछ र यो धर्तीमा सदा रहिरहनेछ ।
उनको यो भनाइलाई प्रजातान्त्रिक मुलुकहरूले एउटा शाश्वत परिभाषाझैं अङ्गीकार गरी लागू गरेर जनतालाई सुख, समृद्धि र उन्नतिको शिखरमा पु¥याइरहेका छन् । यसको उदाहरणका लागि अमेरिका, अष्ट्रेलिया, भारत आदि देशलाई लिन सकिन्छ ।
अर्कोतिर बेलायती सामन्ती शासन व्यवस्थाबाट जनता आजित भएर सन् १६६८ देखि सन् १६६९ सम्म आन्दोलन गरेका थिए । जसको नाम ग्लोरीयस रिभोल्युसन रहन गयो । यस आन्दोलनले नागरिकको अधिकारसम्बन्धी ‘बिल अफ राइट्स’ र राजपरिवारको उत्तराधिकार सम्बन्धी कानुन राजा विलियमथर्डले लागू गराइछाडे । यही ग्लोरीयस रिभोल्युसनले पार्लियामेन्टको सर्वोच्चता कायम गर्दै मोनार्कीको अधिकार कटौती गर्दै लगेको हो । हुन त सन् १२१५ को ‘म्याग्ना–कार्टा’ चाार्टरले नै राजाको असीमित अधिकार सीमित गर्दै लगेको थियो । तर त्यो राजा र सामन्तहरू—नाइट, ड्युक, बारेनहरू आदिलाई बाँडिएको अधिकारसम्बन्धी चार्टर थियो ।
नेपालमा पनि बेलायती सामन्ती व्यवस्थासँग मिल्दोजुल्दो गरी राणाहरूले मुलुकको शासन–व्यवस्था कायम गरेका थिए । अनेकौं तहका सामन्तहरू, राजा–रजौटाहरू, जमिन्दारहरू, बिर्तावालहरू र जिम्मावालहरू राखेका थिए, जसले जनताको रगतपसिना चुसेर अस्थिपञ्जरमात्र बाँकी राखेका थिए । रगतपसिना चुस्ने कसरी भने, एउटा सानो उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु । अहिले जसलाई मालपोत भनिन्छ राणाकालमा त्यसलाई मालगुजारी भनिन्थ्यो । मालगुजारी बुझाउँदा जमिन्दार, पटवारी र जिम्मावालहरूलाई सलामी र मसलन्द खर्च अलग बझाउनुपथ्र्यो । सलामी र अन्य शुल्क दिन सकेन भने तिरिसकेको मालपोत पनि बाँकी भनेर बहीखातामा जनाइदिन्थे । यसरी सात वर्षसम्म मालगुजारी तिर्न नसकेमा त्यो जग्गाजमिन जमिन्दार, जिम्मावालहरूले हडपिहाल्थे र जनता झन् झन् गरिबीको गर्तमा जाकिँदै जान्थे ।
यो त किसानको मात्र कथाव्यथा हो । हरेक क्षेत्रमा मानिसहरू शोषित र उत्पीडित भइरहेका थिए । भाइभारदारहरू र सामन्तहरूलाई विशेषाधिकार र जनतालाई लत्याएर गरिबीको यस्तो खाडलमा जाकेको थियो कि आज प्रजातन्त्र प्राप्तिको ७६ वर्ष पुग्न लाग्दासमेत ती विचरा जनता गरिबीको खाडलबाट निस्केर तंग्रिन सकेका छैनन् । बिडम्वना ! प्रजातन्त्र पुनप्र्राप्तिपछि गणतन्त्र लागू भएको पनि २० वर्ष गुजिँ्रदासमेत जनता आज पनि राहतको खोजीमा भौंतारिँदै छन् । राहतको अनुभूति पाउन नसकेर आत्महत्या र आत्मदाह गर्न बाध्य भइरहेका छन् ।
अहिले घटेका यी अप्रिय घटनाहरू हिजोका पुराना दलहरूले उब्जाएका कुव्यवस्थाबाट रहेको तुषको दुष्परिणाम हो भन्न सकिन्छ । नवोदित दल रास्वपाको दुई तिहाइको सरकारले पुराना दलहरू जस्तै अधिनायकवादी चरित्र र व्यवहार गर्न थाल्यो भने जनता बाध्य भएर प्रतिगामी हुनुपर्नेछ । त्यसैले सरकारले गरिब जनतामाथि खनिन छाडेर उनीहरूको आर्थिक, सामाजिक स्तर उकास्न जनस्तरमै हितकारी कार्यक्रम सञ्चालन गरी दलित तथा पिछडिएकाले अनुभव हुने गरी जवाफदेहिपूर्ण, प्रतिबद्ध भई काम गरेर देखाउन आवश्यक छ ।
(लेखक सिंह समसामयिक विषयमा कलम चलाउँछन् ।)