काठमाडौं, ९ असोज - जापानी मंगा (कमिक) र एनिमेटेड टेलिभिजन शृंखला ‘वन पिस’ को नायक लफी समुद्री डाकु (पाइरेट) हो । यसले अत्याचारी सरकारहरूविरुद्ध लड्दै आफ्ना साथीहरूसँग समुद्र पार यात्रा गर्छ । अहिले यो पाइरेटको झण्डा एसिया, युरोप र अमेरिकाका युवा आन्दोलनकारीहरूको विरोधको प्रतीक बन्न पुगेको छ ।
लफी पौराणिक खजाना खोज्ने क्रममा संसारका विभिन्न ठाउँमा साहसिक यात्रा गर्छ । त्यही साहसको प्रतीक समुद्री डाकुको झण्डा इन्डोनेसियादेखि नेपाल हुँदै फ्रान्स र बेलायतसम्म भएका प्रदर्शनमा फहरिन थालेको छ । आन्दोलन र विरोध प्रदर्शन भइरहेका देशका राष्ट्रिय झण्डा, स्वतन्त्र प्यालेस्टाइन ब्यानर र घरमै बनाइएका पोस्टरसँगै समुद्री डाकुको झण्डा फहरिरहेको हो ।
उक्त झण्डामा हाँसिरहेको खप्पर र हड्डी देखिन्छ । खप्परले रातो पट्टी लगाएको छ । यो झण्डा अहिले विश्वभरका आन्दोलनकारीहरूलाई प्रेरणा दिने नयाँ पप–संस्कृतिको प्रतीक बन्न पुगेको छ । यसको बढ्दो उपस्थितिले जापानी मंगा र एनिमे संसारभरका युवापुस्तामाझ कति लोकप्रिय भइसकेको रहेछ र त्यसले कस्तो सांस्कृतिक प्रभाव पारेको छ भन्ने देखाइरहेको छ ।
नेपालमा र खासगरी काठमाडौंमा भएको सरकारी कार्यालयहरूमा आगजनी हुँदा ‘स्ट्र ह्याट पाइरट्से ’को झण्डा सिंहदरबारको ढोकामा टाँगिएको थियो । भदौ २३ को जेनजी आन्दोलनका बेला भएको विनाशकारी आगजनीका क्रममा विद्रोहको प्रतीकका रुपमा स्ट्र ह्याट पाइरेट्सको झण्डा देख्दा धेरैले आश्चर्य मानेका थिए ।
गएको महिना इन्डोनेसियामा, सांसदहरूलाई महिनामा तीन हजार डलरको आवास भत्ताविरुद्ध भड्किएको आन्दोलनमा पनि लफीको यो झण्डा यति व्यापक बन्यो कि सरकारले अगस्ट १७ (स्वतन्त्रता दिवस) मा उक्त झण्डा कसैले प्रदर्शन गरेको खण्डमा जेल सजाय हुने चेतावनीका बाबजुद प्रदर्शनकारीहरुले चेतावनीलाई बेवास्ता गरेका थिए ।
त्यहाँ आन्दोलन भड्किएपछि र कयौँको ज्यान गइसकेपछि सरकारले भत्ताको निर्णय फिर्ता गर्नुप¥यो । यसैगरी बेलायतमा, यो झण्डा प्यालेस्टाइनहरूको समर्थनमा प्रदर्शन गर्दा र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको सरकारी भ्रमणविरुद्ध पनि प्रयोग भएको थियो । फ्रान्समा भने सार्वजनिक खर्च कटौती र सरकारी असक्षमताविरुद्ध उक्त पाइरेट्सको झण्डा देखिएको थियो ।
अमेरिकामा पनि यसको प्रभाव ढिलै सही देखिन भने थालेको छ । लस एञ्जलसमा ट्रम्पको आप्रवासी नीतिविरुद्ध भएका आन्दोलनका सामाजिक सञ्जाल पोस्टमा लफीको झण्डा देखिन थालेको छ । न्यूयोर्क सिटीमा एप्पल स्टोर अगाडि भएको प्रदर्शनमा समेत यो झण्डा देखियो । प्रदर्शनकारीहरूले अफ्रिकाका कोबाल्ट खानी प्रयोग गरेको भन्दै एप्पल कम्पनीको आलोचनासमेत गरेका थिए र पाइरेट्सको झण्डा प्रदर्शन गरेका थिए ।
लफीले ‘वन पिस’ नामको खजाना खोजी गर्दै पाइरेट किङ बन्ने यात्रामा निरन्तर यात्रा गर्छ र यस्तो स्थानमा पुग्छ, जहाँ जनताले शासकको अत्याचारविरुद्ध संघर्ष गरिरहेका हुन्छन् । सो संघर्षमा लफी र उसका साथीहरूले साथ दिएपछि ‘वल्र्ड गभर्नमेन्ट’ले सदैव खेदिरहन्छ ।
‘वन पिस’ कमिक गएका २५ वर्षयता विश्वभर करोडौं प्रतिहरू बिक्री भइसकेको छ । यसको एक हजारभन्दा बढी टेलिभिजन एपिसोड प्रसारण भइसकेको छ । टोकियोको वासेदा विश्वविद्यालयका प्राध्यापक रोल्यान्ड केल्ट्सका अनुसार, लफी र उनका साथीहरू ‘मुकोकुसेकी’ (जातीयता वा पहिचान स्पष्ट नभएको) भएकाले तिनीहरूको अनुहार छोपिएको हुन्छ । अनुहारविहीन पात्र भएका कारण विश्वभरका पाठक र दर्शकहरूका लागि ती पात्र सजिलै अपनत्व हुने किसिमका हुन्छन् ।
जापानबाट उदाएको लफी झण्डाले संसारभर लोकप्रियता पाइरहेका बेला ‘वन पिस’ मंगाका प्रकाशक शुएशा, एनिमे निर्माता टोए एनिमेसन र हाल लाइभ–एक्सन फिल्म तथा टेलिशृंखला बनाउन लागिरहेको नेटफ्लिक्सले भने आन्दोलन तथा विरोध प्रदर्शनमा यसरी प्रयोग भएको झण्डाका बारेमा कुनै प्रतिक्रिया नदिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।