एजेन्सी – तीन दशकभन्दा बढी समयदेखि इजरायली राजनीति र मध्यपूर्वको कूटनीति र सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्ने व्यक्तिका रूपमा बेन्जामिन नेतन्याहु उभिएका छन् । दक्षिणपन्थी राजनीति र सुरक्षा–केन्द्रित नेतृत्वका कारण उनलाई समर्थकहरूले सुरक्षा दाताका रूपमा हेरेका छन् भने आलोचकहरूले लोकतन्त्रविरोधी, सत्ता र निजी स्वार्थप्रति आसक्त नेता भनी आलोचना गर्छन् । यही द्वैध छवि नै उनलाई अन्तर्राष्ट्रिय रूपमा ‘किङ बिबी’ को उपनामले चिनाइरहेको छ ।
नेतन्याहु कति प्रभावशाली छन् ?
नेतन्याहु सन् १९९६ मा पहिलो पटक इजरायलका प्रधानमन्त्री बनेका थिए र त्यसपछिका वर्षहरूमा पाँचपटक प्रधानमन्त्री निर्वाचित भई हालसम्मका सबैभन्दा लामो समयसम्म पदमा रहेकामध्येका एक नेता बनेका छन् । ७५ वर्षे नेतन्याहु लोकप्रियता हिसाबले अत्यधिक जनसमर्थन प्राप्त गर्ने नेताहरूमा परालाग्दैनन् । पछिल्ला केही सर्वेक्षणले करिब ४० प्रतिशत मात्र इजरायलीले उनलाई विश्वास गर्छन् भनी देखाएका छन् । तर, उनले आफूलाई ‘मिस्टर सेक्युरिटी’ को रूपमा स्थापित गराउन सफल भएका छन् । उनका समर्थकहरू उनलाई हमास, हिजबुल्लाह र इरानलगायतबाट देशलाइ जोगाउन सक्षम नेता ठान्छन् ।
‘किङ बिबी’को अर्थ
‘बिबी’ नेतन्याहुको उपनाम हो; ‘किङ’ भने उनको दीर्घकालीन सत्तास्थिरता, कठोर र प्रभावशाली नेतृत्वशैली तथा राजनीतिक रूपमा निर्णायक भूमिका जनाउँछ । यो उपनाम सकारात्मक र नकारात्मक अर्थ दुवैमा प्रयोग हुन्छ । समर्थकहरूले साहसी र अविभाज्य नेता भनेर बढी सम्मान जनाउँछन् भने आलोचकहरूले यसलाई सत्ता केन्द्रिकरण र लोकतन्त्रविरोधी प्रवृत्तिको सूचकको रूपमा लिन्छन् ।
उनको विश्व दृष्टिकोण ?
नेतन्याहुको परिवारिक पृष्ठभूमि, सैन्य सेवा र दाजु योनीको नायकीय मृत्युले उनको विश्वदृष्टिलाई आकार दिएको मानिन्छ । उनका पिता, बेंजियन नेतन्याहु, १९४९ मा परिवारसँग तेल अवीभ आए । इतिहासकार बेंजियन ‘यहूदी इतिहास सधैं होलोकस्टजस्तो ठूलो विपत्तिमा मात्र मापन हुन्छ’ भन्ने सोचमा थिए ।
नेतन्याहुको किशोरावस्थाका वर्षहरू संयुक्त राज्य अमेरिकामा बिते । १९६७ को सिक्स–डे युद्धपछि उनी फर्किए, इजरायली सेना प्रवेश गरे र विशेष दस्तामा सेवासमेत गरे ।
त्यही दास्तामा उनका दाजु योनी र भाइ इडो पनि थिए । योनी विशेष गरी साहसी थिए, तर १९७६ मा युगान्डाको एन्टेब्बे विमानस्थलमा इजरायली अपहरण पीडितलाई मुक्त गर्ने अभियानको नेतृत्व गर्दा मारिए । दाजु योनीको एन्टेब्बेको निधनपछि उनको राष्ट्रिय नायकको छवि बलियो भयो र यसले उनका सुरक्षा–केन्द्रित विचारलाई सार्वजनिक जीवनमा रूपान्तरण गर्न मद्दत गर्यो ।
राजनीतिक उथलपुथल र पुनरागमन
नेतन्याहुको पहिलो कार्यकालसहितको राजनीतिक यात्रा सफलतासँगै असफलताले भरिएको छ । नेतन्याहुले आफूलाई निरन्तर ‘सभ्यता र बर्बरताबीचको संघर्ष’ मा संलग्न व्यक्ति भनेर चित्रण गरे । उनले भने, ‘म मृतक दाजुको युद्ध लडिरहेको छु।’ नेतन्याहुले योनीको स्मृतिमा स्थापना गरिएको इजरायली एन्टि–टेरर संस्थाको नेतृत्व गरे । यस संस्थाले उनलाई सम्मेलनहरू आयोजना गर्ने र अमेरिकासम्म आफ्ना प्रतिनिधि पठाउने मौका दियो ।
१९८४ मा उनले पहिलो पटक संयुक्त राष्ट्रसंघमा इजरायलको स्थायी दूतका रूपमा सेवा सुरु गरे । त्यही बेला उनले पश्चिमी सञ्चारमाध्यमहरूमा इजरायलको दृष्टिकोण प्रस्तुत गर्दै आफ्नो अन्तर्राष्ट्रिय पहिचान बलियो बनाए । १९८८ मा केनेस्सेत (संसद) मा निर्वाचित भएपछि, उनले दक्षिणपन्थी लिकुड पार्टीको पंक्तिबाट आफूलाई स्थापित गरे ।
१९९३ मा पार्टी नेतृत्वमा आइपुगे र १९९६ मा पहिलो पटक प्रधानमन्त्री भए । तर उनको पहिलो कार्यकाल असफल रह्यो । उनले वेस्ट बैंकको केही भूभागमा प्यालेस्टाइनी अधिकार दिनप¥यो । भ्रष्टाचार घोटालाले पनि उनलाई कमजोर बनायो । जसका कारण उनले १९९९ को निर्वाचन हारे ।
१९९९ मा भ्रष्टाचार र नीतिगत विवादले उनलाई सत्ता बाहिर तान्यो भने २००९ मा पुनः सत्तामा फर्किए । आफ्नो दोस्रो लामो कार्यकालमा उनले इरानको आणविक महत्वाकांक्षा र हमासलाई केन्द्रमा राखेर इजरायलको सुरक्षा रणनीति कडा बनाए । साथै, अरब देशहरूसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने पहलहरूको नेतृत्व पनि उनको कार्यकालमा देखियो । तर, समय–समयमा सञ्चारमाध्यम र न्यायालयमाथि दबाब बढाएको आरोप तथा भ्रष्टाचारको घोटालाहरूले उनको छविमा चोट पुर्याएका छन् ।
वाशिङ्टनसँगको सम्बन्ध
क्लिन्टनकालीन दूरीदेखि ओबामाकालीन तनाव र ट्रम्पकालीन घनिष्ट सहकार्यसम्म नेतन्याहु र अमेरिकी प्रशासनबीचको सम्बन्ध उतारचढावपूर्ण रहेको छ । ट्रम्प प्रशासनले नेतन्याहुलाई ठूला कूटनीतिक प्राथमिकताहरूमा समर्थन ग¥यो भने जो बाइडेन प्रशासनसँग सम्बन्ध केही चिसिएको देखिन्छ । अमेरिकी अधिकारीहरूले कहिलेकाँही उनलाई ‘भरोसा गर्न गाह्रो’ भनी आलोचना समेत गरेका छन् । १९९६ मा, उनी पहिलो पटक प्रधानमन्त्री हुँदा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई विशेष विश्वास गरेनन् ।
२०१५ मा नेतन्याहुले अमेरिकी रिपब्लिकनहरूको निम्तोमा कांग्रेसमा भाषण गरे । जसमा उनले बराक ओबामाको इरानसँगको सम्झौताविरोध गरे । यसले दुई नेताबीचको सम्बन्ध निकै तनावपूर्ण बनायो । डोनाल्ड ट्रम्पको कार्यकालमा भने नेतन्याहुलाई ठूलो समर्थन मिल्यो । ट्रम्पले इजरायललाई गाजा र इरानविरुद्ध युद्ध गर्न स्वतन्त्रता दिए । पश्चिमी तटमा बस्तिहरू विस्तार गर्न स्वीकृति दिए, र इजरायलसँग ठूलो व्यापार सम्झौता गर्ने बाटो खोले ।
किन अझै सत्तामा छन् ?
मुख्य कारण उनको निरन्तरता ‘मिस्टर सेक्युरिटी’ को छविमा जोडिएको छ । उनका सहयोगी अवीश बुस्किला भन्छन्, ‘नेतन्याहु नै पृथ्वीमा एउटै व्यक्ति हुन् जसले यो काम गर्न सक्छन् भन्ने विश्वास गर्छन् ।’
इजरायली मतदातालाई धेरैले अझै पनि विदेश र आन्तरिक खतराबाट रक्षा गर्ने क्षमता नेतन्याहुमा मात्रै भएको विश्वास राख्छन् । युद्ध, सुरक्षा कारबाही तथा कूटनीतिक सफलता र असफलताबाट उठ्ने प्रश्नहरूका बाबजूद पनि उनका समर्थकहरू उनलाई मात्र देशको अस्तित्व जोगाउन योग्य नेता ठान्छन्