एजेन्सी – ‘अझै राम्रा दिन आउँदैछन् ।’ क्यामरुनका राष्ट्रपति पउल बियाको यो सन्देश कुनै नयाँ चुनावी वाचा होइन, विगत चार दशकदेखि पटक–पटक दोहोरिइरहेको वाक्य हो । सात वर्षे कार्यकालको आशामा ९२ वर्षको उमेरमा पनि उनी फेरि राष्ट्रपतिको उम्मेदवार बनेका छन् । यदि उनले फेरि जिते, सन् २०३२ मा उनको कार्यकाल सकिँदा उनी १०० वर्ष पुग्न लागेका हुनेछन् ।
बिया कुनै नयाँ अनुहार होइनन् । सन् १९७५ मा प्रधानमन्त्री र त्यसपछि १९८२ मा राष्ट्रपतिको पद सम्हालेका बिया पछिल्ला ४५ वर्षदेखि क्यामरुनको सर्वोच्च पदमा छन् । अहिले उनी विश्वकै सबैभन्दा जेठा उम्मेदवार मात्रै होइनन्, शायद सबैभन्दा पुराना सत्तारूढ राष्ट्रप्रमुख पनि हुन् । यति लामो समय सत्तामा बस्ने बियाको इतिहासले क्यामरुनको लोकतन्त्रबारे गम्भीर प्रश्न उठाएको छ ।
बियाको चुनावी शैली भने अझै अनौठो छ । उनी चुनावी सभा, बहस वा प्रत्यक्ष संलग्नतामा कहिल्यै देखिँदैनन् । प्रचारमा उनी आफ्ना तस्बिर, पोस्टर र कठपुतलीमार्फत मात्र उपस्थित हुन्छन् । उनको अधिकांश समय स्विजरल्यान्डको जेनेभास्थित इन्टरकन्टिनेन्टल होटलमा बित्छ । त्यसैले आलोचकहरूले उनलाई ‘अनुपस्थित राष्ट्रपति’ उपनाम दिएका छन् ।
चुनावमा भाग लिन ८३ जनाले इच्छाशक्ति देखाए पनि, अन्तिममा १० जनामात्र उम्मेदवारका रूपमा बाँकी छन् । प्रमुख विपक्षी नेता मौरिस काम्टो अयोग्य घोषित भइसकेका छन् । ७६ वर्षीय इस्सा चिरोमा बाकरि, बियाका पूर्वमन्त्री, अहिलेका सशक्त प्रतिस्पर्धी मानिन्छन् ।
घोषणापत्रमा उनले खुलारूपमा बियाको आलोचना गरेका छन्, ‘देश एउटा व्यक्तिको सेवा गर्नका लागि मात्र बाँच्न सक्दैन ।’ तर क्यामरुनका नागरिकहरू मात्र पुरानो अनुहारदेखि थाकेका छैनन्, उनीहरू देशको परिस्थिति देखेर आक्रोशित पनि छन् । उत्तर क्षेत्रमा बोको हरामको आक्रमण अझै जारी छ ।
पश्चिमी अंग्रेजी भाषी क्षेत्रहरूमा पृथकतावादी आन्दोलनका कारण सयौंको ज्यान गइसकेको छ र ६ लाखभन्दा बढी नागरिक विस्थापित छन् । विकास, रोजगारी, स्वास्थ्य सेवा र न्याय प्रणालीजस्ता क्षेत्रमा लगातार गिरावट आएको छ ।
त्यसमाथि, बिया जसरी सत्तामा टिकिरहे, त्यो पनि लोकतन्त्रको वास्तविकताको परीक्षण हो । विश्लेषकहरूका अनुसार बियाले आफ्नै पार्टीभित्र ‘फुटाऊ अनि शासन गर’ रणनीति अपनाएका छन् । सेनामा क्लाइन्टलिज्म (आफ्ना समर्थकलाई लाभ बाँड्ने) शैली प्रयोग गरेर उनले संस्थागत विरोधहरूलाई दबाइरहेका छन् ।
सन् २०१६ मा अंग्रेजी भाषी क्षेत्रबाट उठेको शान्तिपूर्ण आन्दोलनलाई सैनिक बल प्रयोग गरी दबाएको उदाहरण अझै ताजै छ । मतदाता भने यति पटक उही व्यक्तिलाई सत्तामा देखेर निराश छन् । देशका करिब ८.२ मिलियन नागरिक मतदान योग्य भए पनि चुनावमा सहभागिता कम हुने सम्भावना प्रबल छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले क्यामरुनको चुनाव अब निष्पक्ष र स्वतन्त्र छैन भन्ने ठहर गर्दै निरीक्षण गर्न छाडिसकेका छन् ।
त्यसो त बियाका प्रतिस्पर्धीहरू पनि पूर्णरूपमा बलिया देखिँदैनन् । केही पत्रकार, वकिल, मेयर र पूर्वमन्त्री उम्मेदवार छन् । जसले भ्रष्टाचार र संकट अन्त्य गर्ने घोषणा गरेका छन् । तर, सत्तारूढ दलको संगठित संरचना र प्रशासनिक प्रभावका बीच उनीहरूको जितको सम्भावना कमजोर देखिन्छ ।
बिया फेरि पनि भनिरहेका छन् ‘अझै राम्रा दिन आउँदैछन् ।’ तर जनताको प्रश्न चाहिँ प्रश्न उठ्न थालेको छ ‘राम्रा दिन कहिले र बिया कहिलेसम्म ?’ लोकतन्त्रको नाममा यस्तै अनुहारहरूको सत्तारोहणले क्यामरुन मात्र होइन, सिंगो अफ्रिकामा नेतृत्वको नवीकरण र संस्थागत विकासप्रति गम्भीर चिन्ता उठाएको छ ।