गुप्तकार्य गर्नका लागि राज्यले छुट्टै अंगका रूपमा गुप्तचरहरू गठन गर्छ । छलकपट साम, दाम, दण्ड, भेद राज्य सञ्चालनका लागि चाहिने अनिवार्य शर्त हुन् । वस्तु तत्व, ज्ञानतत्व, मूल्यांकनका अनगिन्ती आधारमा पर्गेल्ने गूढ र गुह्य कुरा खोतल्ने यस्ता काम गर्ने जो कोही पनि हुन सक्तछन् । गुप्तचर छान्दा जात, वर्ण, लिंग, वर्ण हेरिन्न बरु समाजका सबैलाई समेट्ने व्यक्ति र व्यक्तित्वको खोजी गरिन्छ । सोही नीति रीति, विधि र नियमनबाट उसको चरित्र हेरिन्छ तर निकटता र दूरता नहेरी गुप्त कार्यका लागि को योग्य छ ? कसले गोप्य घटना फेला पार्न सक्छ ? तिनै राज्यका गुप्तचरका सूचकहरू हुन् । देश, राज्य, राष्ट्रविरुद्ध गरिने जुनसुकै अपराधिक क्रियाकलाप सत्य तथ्य, यथार्थ घटना सप्रमाण खोजेर राजहाँसले दूध र पानी चुच्चाले छुट्याएर छानेझैं गोप्यभन्दा अतिगोप्य तरिकाले सम्बन्धित संस्था, व्यक्ति, संगठनका प्रमुख या राजा भएका देशमा, राजा, राजसंस्था, राजा नभएका देशमा राष्ट्रपतिमा तिनले प्रेषित गर्छन् र गर्नुपर्दछ । राष्ट्रपति, प्रधानमन्त्रीद्वारा त्यही उद्देश्य र कामका लागि नियुक्त भएका त्यस्ता गुप्तचर हुन्छन् । तिनीहरूलाई खुफिया या गुप्तचरको नाम दिइएको हुन्छ । तिनीहरूलाई जसले नियुक्त गर्यो उसैलाई सूचना प्रवाह गर्नु दायित्व कर्तव्य हुन्छ र सम्झनुपर्छ । उसले अह्राएको वा तोकेको आज्ञा, आदेश, सल्लाहाकारका रूपमा काम गर्छन् र गर्नुपर्दछ ।
संविधानको अधीनमा रही विश्वका सबै देशमा गुप्तचर हुन्छन् र खुफियाको काम गर्छन् । ऐन, कानून, विधि, नीति, नियम, आचारहीन कामका तालिका, फेहिरिस्ताको सूचना तिनले सूचित गर्छन् । विविध प्रकारका पूर्वसूचना सम्बन्धित पक्षलाई के हुँदैछ ? के हुन आँटेको छ ? परिणाम के हुन सक्छ ? के हुनेवाला छ ? हुन आँटेको कामको राज्यका पक्षमा मत जाहेर गर्ने र सूचना दिने गर्छन् । मान्छेको बानी कस्तो हुन्छ भने नगर्नु भनेको काम गर्छ । उसमा अहंकार र अहं उग्ररूपमा उग्राउने गर्छ । अहंकारले मान्छे समाजमा गह्नाएको हुन्छ । राज्यविरुद्ध गरिने सबै किसिमका घटना घटाउँदा अपराध मनस्थिति भएकाहरूको सहकार्यका आधारमा त्यस्ता काम हुन्छन् र गर्छन् । उसले सकभर त्यस्ता काम सुरुमा लुकाएर, छिपाएर गर्छ । त्यस्ता लुकाएका, छिपाएका काम जस्ताको त्यस्तै खसोखासरूपमा नढाँटीकन गुप्तचरले यथार्थरूपमा निफननाफन गरी भुस, पोगटा, कुँडाकर्कट छुट्याएर अनुसन्धानको सियो धागोले बलियोसँग तुनेर सुमेरुसमेत छुट्याएर अनुसन्धानका लागि तोकिएका व्यक्तिमा होसियारीपूर्वक पुर्याउने काम गर्छन् । गुप्त काम गर्नेहरू सदासर्वदा लुकिछिपी नचिनिने भेषमा बस्ने गर्छन् । सकभर कसैले थाहा नपाउनेगरी निवास गर्न, घटनाका वास्ना सुँघ्न, समाजका दुर्गन्ध खोज्न नित्य चाहन्छन् । कतिपय स्थलमा कडा बोल्ने, पर्चा पम्प्लेट फ्याँक्ने, लेख्ने, टाँस्ने, विरोध स्थलमा अग्रपंक्तिमा हिँड्ने, ब्यानर बनाउने, पार्टीभित्र निर्णय तहमा सधैं रहन चाहने, चर्को स्वरमा भाषण गर्ने, भाषण गर्दा विदेशीको विरोध गर्ने, समाजले हेर्दा राष्ट्रभक्तजस्तो लाग्ने र ठान्ने, कतै मलीन शैलीमा प्रस्तुत हुने, कतै नम्र भई सामान्य जनताका अगाडि राष्ट्रभक्त जस्तो देखिँदै शिष्ट र सभ्य भाषा बोल्ने, देशको सिमानाका विषयमा शत्रु राज्यसँग कुराले मिले मिलाएजस्तो गर्ने र कतै भीडेजस्तो गर्ने, कतै गफ ठूला गर्ने कतै धिमा स्वर र गतिमा मलिन भावमा बोल्ने, चल्ने र मान्छेलाई स्वादिष्ट कुराले भुल्याउने र अलमल्याउने स्वभावका मानिस गुप्तचर बन्न सक्तछन् । त्यस्ताले आफ्ना देशमा अरू देशका र अरू देशका आफ्नो देशमा गुप्तरूपमा दिनहुँ समाचार सम्पे्रषण गर्छन् । अरू देशलाई फाइदा पुग्ने, आफ्ना देशलाई हानि हुने काला कर्तुत बोकेकाहरू जो कोहीको गुप्त किसिमले तथ्य र प्रमाणसहित सम्बन्धित पक्षलाई ज्ञात वा जानकारी गराउँछन् । सँगसँगै गुप्त रूपमा सचेत र जागृत गराउँछन् र गराउनु पर्दछ । देशको माटो र जनताका हितमा काम गर्ने लक्ष्य गुप्तचरको अहोरात्र सधैं हुनुपर्दछ र हुन्छ ।
गुप्तचरको काम
लुकेको, छिपेको, छिपाएको, गुप्तरूपमा राखेको, प्रकट नभएको, अदृष्ट, अनदेखा, गुप्त रहेको र राखिएको, सुरक्षितरूपमा बसेको, प्रकाशमा नआएका वस्तु, चिजबिज, सामग्री, कुराकानी, चोरी, डकैती, ज्यानमारा, अनेकौं प्रकारका घटनाहरूलाई होसियारीपूर्वक र सुरक्षित किसिमले सम्बन्धित फाँटमा जानकारी गुप्तचरले गर्नु र गराउनुपर्छ । यस्तो जानकारी लिने र दिने व्यक्ति, संस्था, संगठन, एनजीओ, आईएनजीओहरू विश्वका राष्ट्रले आफ्नो स्वार्थ पूरा गर्न छ्यापछ्यापी अरूका देशमा छोडेका हुन्छन् । यस्तै उद्देश्यले विकसित राष्ट्रले विकासशील राष्ट्रमा त्यस्ता संस्था घरघर, टोलटोल, गाउँगाउँमा पत्ता नपाई खोलेका हुन्छन् । नेपालमा पनि तिनले नेपालको गुप्तचरी बनी काम गर्छन् । त्यस्ता व्यक्ति नेपाली नागरिक पनि हुन सक्तछन् । पैसा र आर्थिक स्वार्थका कारण नियुक्ति लिन्छन् । तिनीहरू त्यही कामका निम्ति लाखौं, कराडौं लगानी गरेर विकासशील राष्ट्रमा विदेशीद्वारा खोलिएका हुन्छन् । एनजीओ, आईएनजीओले समाज भत्काउने र भड्काउने काम गर्छन् । महिलाका नाममा, जनजातिका नाममा, मधेशीका नाममा, दलित र पिछडा वर्गका नाममा पुस्तक, लेख लेखेर विदेशीको मन्दविषका रूपमा समाजका अंग धुजाधुजा पारेर क्रमशः समाज भत्काउने गर्छन् । विदेशी गुप्तचरले मिलेर बसेको सामाजिक संरचना अनेक शोषण र शोषितको बहना बनाएर खण्डखण्ड, टुक्राटुक्रा गरी ध्वंस र ध्वस्त पार्दछन् । मिलेर बसेका निकटका छिमेकीका फाटो सिर्जना गरी छिमेकी–छिमेकीबीचमा वैमनस्यताको बिउ रोपेर समाज भत्काएर तहसनहस पार्दछन् ।
नेपालको भूराजनीति
भूपरिवेष्ठित नेपालको भूराजनीति परिस्थितिमा उत्तरमा विशाल चीन र तिब्बतको क्षेत्र र पश्चिम, पूर्व र दक्षिणमा छिमेकी मुलुक भारत छ । सुर्योदयदेखि सूर्यास्तसम्म राज्य विस्तारमा लाग्छु भनेर एक जमानामा बेलायतले सोच्थ्यो । हाल अमेरिका त्यही भन्छ र सम्राज्यवाद फैलाउन चाहान्छ । अमेरिकाको साम्राज्यवाद भाषा, शिक्षा, निरपेक्षता, राज्यका निर्देशक सिद्धान्त, नीतिका माध्यमबाट नेपालमा पनि सम्राज्यवाद फैलाइरहेको छ । उसको सोच विकाशोन्मुख मुलुक मेरै अधीनमा रहनुपर्छ भन्ने छ । मेरै नीति र विचारमा नेपालले हिँड्नुपर्छ भन्ने अमेरिका नेपालबाट दूरीका हिसाबले निकै टाढा भए पनि नेपाललाई खेल मैदान बनाउन चाहन्छ । उसले चीन र भारतलाई हेरेर नेपालमा पर्व–पर्वको मुहूर्त जुराएर पञ्चमीका पाइला चालिरहेको छ । युरोपले पनि नेपालप्रति क्रिश्चियन धर्मको प्रचारप्रसारका कारण गिद्धे नजरले हेर्छ । उसको नजरिया हिन्दु सभ्यता वैदिक सनातन धर्म, संस्कृति र संस्कारको विनाशमै छ । यता राजनीतिक दलका प्रमुख नेताहरूमा राष्ट्रियता शून्य छ । देश भाँडमा जाओस्, शासनसत्ता र पद–प्रतिष्ठा आफ्ना हातबाट नजाओस् भन्ने सोच छ । यस्तो अवस्थामा सानो क्षेत्रफल भएको नेपालप्रति सबैका गलत नजरिया छ । चारैतिरबाट दबाब भएका कारण देशले आफ्नो स्वत्तः र अस्तित्व रक्षा गर्न सकिरहेको छैन । चारैतिरको भूराजनीतिबाट पिल्सिएको र थिल्थिलिएको नेपाल अस्वस्थ छ । यस्तो परिस्थितिमा देशभक्त, भूमिप्रेमी राजनीतिक दलभित्रका देशभक्त नेता, कार्यकर्ताले होसियारीपूर्वक देशका कानून, नीतिनियम भूराजनीतिका आधारमा नीति नियमलाई संशोधन गर्नुपर्दछ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई भूराजनीति सुहाउँदो ऐन, नियम, विधि, पद्धति र कानूनअनुरूप हिँड्ने व्यवस्था गर्नुपर्छ ।
धेरै खर्च गरेर जनताले बनाएको संविधान दश वर्ष पनि टिकेन किन त ? यसो हुनुमा देशको स्वार्थभन्दा दलीय स्वार्थको कारण छ । दलका प्रमुख नेतालाई यो संविधानले कानूनी दायरामा आउन ऐन, कानूनले नछुने गरी संविधान सभाले बनाएको संविधान अस्वस्थ छ । संविधानले जनता चिन्दैन र चिनेन । श्रीमती चिन्छ । छोरो, सालो, साली, साँढुभाइ, जेठान, सासू, ससुरा बिचौलिया मात्र चिन्छ । यस्तो संविधान संविधान सभाबाट लेखिनुहुँदैन थियो, लेखियो । संविधान विज्ञबाट संविधान लेखिनुपर्दथ्यो, लेखिएन । केन्यातिरका नागरिकबाट लेखियो । यसको समाधान राजनीतिक दलका नेताबाट विलम्ब नगरी समयमै समाधान हुनुपर्दथ्यो । त्यो पनि भएन । जनतामाथिको अन्याय अत्याचार दुई दलका कारण र हाम्रो नेतृत्वबाटै हुन गएको हो भन्न नेतृत्वका चेला चपेटाले भन्न सकेनन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दल, दलका नाइकेले राष्ट्रका विषयमा गम्भीर बन्नुपर्ने थियो । जेनजीको यत्रो खबरदारी आन्दोलन हुँदासम्म दल चेतेको र बौरेको पाइँदैन । खोट देखिएको स्थानमा देशको ऐन कानूनमा अब आमूल सुधार गरिनु जरुरी छ ।
नेता र कार्यकर्तामा समेत दलका व्यक्ति हुनेबित्तिकै सबैले सबै विषयवस्तुका कुरा जान्ने बन्न खोज्दा देशमा जेनजीबाट वर्तमानमा भएको सारा राष्ट्रिय अभिलेख, अभिलेखालयसम्बन्धी देशबाट कहिल्यै नाश नहुनुपर्ने धनको आहुती हुन गयो । हाल संविधानविपरीत बनेको सरकार किंकर्तव्यविमूढ बनेको छ । नेपालमा स्थापित गुप्तचरबाट सही सलामत समयमै सही वस्तुगत तथ्य सूचना नगरिएका कारण भाद्र २३ र २४ को घटनामा देश खरानी भयो । यस्तो समस्या निम्तिएको मूलतः दुई दलका कारणले हो । हलो काट्न जान्नेले डोको बन्न जान्दैन । डोको बन्न जान्नेले नाम्लाको हराहरा सुपाडी बनाउन जान्दैन । त्यसकारण विज्ञता त केवल अनुसन्धान गर्नेहरूसँग मात्र हुन्छ । तर कतिपय पूर्वपृष्ठभूमि नै हत्या हिंसाबाट तयार भयो । नेपाली धरातल थाहा नपाएका नेता र विश्वविद्यालयका प्राध्यापक, वकिलहरू विदेशी आनासुकी चडाइ र प्रोजेक्टका रकम कलमबाट पेट भर्छन् र पालिएका छन् । त्यस्तो प्रोजेक्टबाट गरिने अनुसन्धानले देशको हितभन्दा विदेशी हित अनुकूल नै हुन्छ । सूचनाहरू तिनै प्रोजेक्ट गर्नेबाट चुहिन्छ । देशको गुह्य कुरा बाहिरतिर फुत्कन्छ । देशको चुरो र गुदी विदेशीले थाहा पाएपछि संविधान ऐन, कानून, नीति, नियमहरू उनीहरूका प्रेरणाबाट प्रेरित भई बन्छ र बनाउँछन् । विज्ञमा समेत उनको अनुकूल बनाउन प्रेरित गर्छन् । जस्तो कि नेपालमा ‘निरपेक्ष’ शब्द विदेशीकै प्रेरणाबाट संविधानमा प्यारो बनेर घुस्यो । देशका परिचयको घुम्टो उदांगो पार्दा गौरव महसुस गर्छन् । यसैमा अब विदेशी चलखेल आहालमा कहिल्यै नउठ्ने गरी दबदबे हिलोमा जातीय साम्प्रदायिकता गोडा गाडिएको भैंसीजस्तो भएर गाडिएको गाडियै भएर बस्यो । यसले स्वतः नेपालको मौलिकतालाई बोकेर हिँड्नुपर्ने शब्द त्यहाँ अनावश्यक स्थानमा दुलोमा पसेर फणा फिँजायो । त्यसकारण नेपालीको भावनाविपरीत भएका कारण त्यो अहिले गतिशील हुन सकेन । यसले सम्यक् अर्थबोध गराएर हिँड्नुपर्ने थियो तर नेपाली मौलिकता पराइ बन्यो । त्यही विषय संविधानमा ढसमस्स हलचल नगरी बस्यो । यसले त झन् आफू र आफैंमाथि विश्वास नअडिएर अरूको भरोसामा हिँड्नुपर्ने भयो । यो संविधानले अरूको भरोसा गर्नुहुने थिएन । सञ्चारमन्त्री, पूर्वप्रधानमन्त्री, नेता, सांसद र कार्यकर्ताहरू धन, धर्म, संस्कृति र संस्कारमुक्त र विरक्त हुनुपर्दथ्यो तर त्यो भएन । नेताका घरघरमा जम्मा भएका पैसालाई एआईले पैसा बनायो भनेर लोक लाजका लागि नाटक रचेर जनताका बीच भन्नुपरेको छ । अहिले लाजै नमानी सांस्कृतिक राजाले झैं राष्ट्रपति, प्रधानमन्त्रीहरूले पशुपतिनाथ मन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरमा कुद्नुपरेको छ । यस्तो काम त राजाहरूको हो निरपेक्ष संविधान मान्नेहरूको हुँदै होइन । त्यसैले इन्टिलिजेन्सले पछि घट्ने घटनाको नालिबेली पहिल्यै थाहा पाउनुपर्छ । त्यस्तो गुप्तचर सूचना गर्न नसक्ने र थाहा नपाउने व्यक्ति संस्था, राज्य, देश राष्ट्र कसैको पनि सुरक्षा गर्न सक्तैन । यस्तो अवस्थामा अनुसन्धान लापता हुन्छ । पुराना घर, अभिलेख जल्दा जासुस कानमा तेल हालेर सुत्छन् । यो देश कसले चलाएको छ ? देशका प्रधानमन्त्री, गृहमन्त्री के हेरेर बसेका छन् ? आखिर यी संस्था किन चाहियो ? यो देश कसले यस्तो बनायो ? सम्झिँदा प्रश्नको ओइरो लाग्छ । बाआमाको संज्ञा दिएर दलका कार्यकताले देश चलाउन अयोग्यलाई सुम्पेर देवत्वकरण गरिरहेका छन् । संविधानका संरक्षक जनता हुन् भने जनताले काम गर्न पठाएका नेता गोठाला खेताला हुन् । खेतालाले मालिकको काम गर्नुपर्दछ । खेतालो मालिक बन्ने होइन । मालिक बन्ने धृष्टता गर्दा र धारणा राख्दा हाल देशको दुर्दशा भएको हो । अरू देशका चन्द्रलोक, मंगलग्रह र अरू नवग्रहको विषयमा अध्ययन, अनुसन्धान गर्छन् । नेपालीहरू भने जातीय राजनीति गरेर आयु गुजारीराखेका छन् । उमेर बढाउनु र घटाउनु मात्र राजनीति होइन । नेताले त आयु व्यतीत गरे युवाले पनि आफ् नो आयु त्यसै खेर फालेका छन् । उमेर घटाउँदै जीवन व्यतीत गरिरहेका छन् । नेपाली युवाका लागि नेपालमा कामलायक शिक्षा नै राज्यले दिन सकेको छैन । एक साल पाठ्यक्रम पढाएर एक दिन तीन घण्टाको परीक्षामा मात्र सीमित छ । त्यसमा न उसले अनुसन्धान गर्ने सीप सिक्छ न ज्ञान, विवेक, बुद्धि पाउँछ । केवल विदेशीको फ्याक्ट्रीमा काम गर्ने मजदूर मात्र उत्पादन भइरहेका छन् । विदेशीको पूजा, स्तुति, प्रार्थना गाउने शिक्षाले ज्ञान त शून्य नै हुन्छ साथसाथै विदेशीका मजदुर उत्पादन गर्ने र मजदुर बन्नका लागि कागज तयार गर्नेबाहेक नेपालको शिक्षाले अरू थोक केही दिँदैन । हप्तादिन पढाएर ३ घण्टाको परीक्षा लेख्ने विद्यार्थीहरूले अनुसन्धान गर्ने मेलो जान्दैनन् । सांसदले नेताले ल्याएको देश बेच्ने एजेण्डा ल्यायो भने पनि छलफल, बहस नगरी ताली ठोकेर पास भन्ने देशमा अरू अनुसन्धानात्मक ज्ञानको के आशा गर्नु ?
तसर्थ, जेनजीको आन्दोलनपछि देशमा देखिएको अनुसन्धानको रिक्तता र शून्यता साँच्चै कहाली लाग्दो छ । राज्य निरीह छ । राज्यका प्रमुखहरूले अनुसन्धान भन्ने शब्द सुनेकै छैनन् जस्तो भान हुन्छ । अनुसन्धान पाठ्यक्रमको पठनपाठन होइन । तीन घण्टा परीक्षा दिएर एउटा कागजको खोस्टो लिएर घर पुग्दा बाबुआमा, दाजुभाइ, दिदीबहिनी खुसीको हर्षले पुलकित जस्तो पनि होइन । न स्वाध्यायन गरेर लोकोक्ति, उखान, टुक्का, वाग्धारा, वार्ता, संवादमा प्रयोग गर्दा विश्वको जान्ने शासक आफ्ना कार्यकर्ताबाट ठहरिएजस्तो अनुसन्धान हुने होइन । अनुसन्धान गर्न शासकका नातापाता र कार्यकर्तालाई राज्यको बाँसको घाँस, गोब्रे लहरो र छतिवन कुटेर घाँस खुवाएर धेरै धार्नी खसीको मासु पारेजस्तो पनि होइन । यो त अपरिचित व्यक्तिले राज्यप्रति गरिने इमानदारीपन र बफादार काम हो । तालिमप्राप्त कापटिक उदास्थित, गृहपपतिक, वैदेहक, तापस, सत्री, तीक्ष्ण, रसद र भिक्षाकी बनेर राज्यका लागि मरिमेटेर राज्यका विरुद्ध हुने कुनै पनि खुफियाको षड्यन्त्रलाई बुद्धिमत्तापूर्ण जोगाउन खुबी भएका अनुसन्धानसँग सम्बद्ध व्यक्तित्वहरूलाई सूचना गर्ने गुप्तचरको एउटा ब्यूरो हो ।
समाजमा अनुसन्धान गर्न आचारमा बसेका, ब्राह्मण, द्विजातिहरू, वेदपाठी विप्र, अग्रजन्मा, भूदेव, वाड्यशठ, धूर्त, छात्रछात्रा, अन्य विषयवस्तुका मर्मज्ञहरूलाई गुप्तचरको काममा राज्यले लाउन सक्तछ । तपस्वी, काम नै अनुसन्धानरूपी राज्यको व्रत हो । राज्य अंगका रूपमा नियुक्त भएका, अधीक्षक, द्वारपाल, मिडिया सञ्चारकर्मी गुप्तचरहरू नै उदास्थित गुप्तचरका रूपमा राज्यमा रहन्छन् । ब्रह्मचारी गृही, वानप्रस्थ, भिक्षु, भिक्षुणी, गृहपतिक गुप्तचरहरू हुन् । यिनले गृहपतिक गृहस्थसँग सम्बन्धित भएकाले घरघरका सुसारे, घरको पोछा लाउने, झाडु बडारु गर्ने, खेतबारीमा काम गर्ने हली, गोठालाहरू गृहपतिक हुन् । यिनीहरू मालिकले लाए अह्राएको काम गर्दछन् । वर्णशंकर जातिहरू वैदेहक हुन् । एकसय पच्चीस जातिहरू एकसय तेइस भाषा बोल्नेहरू वैदेहक हुन् । यिनले वैदेशक माल किन्ने र बेच्ने दुवै सानाठूला व्यापारीहरू वैदेहक र वैदेहिक हुन् । यिनीहरूको ठूल्ठूला पुँजीपति, धनाढ्य व्यापारी सेठहरू सबै वैदेहक गुप्तचर हुन् । भिक्षा मागेर खाने, बलि वैश्वदेव पूजा गर्ने, पञ्च यज्ञ गर्नेहरू तापस हुन् । यिनै तापस जस्तै भएर मठ, मन्दिर, मस्जिद, गुम्बा, गिर्जाघरमा गएर गुप्तचरको काम गर्छन् ।
यिनीहरूले सन्न्यासीसँग सम्बन्ध राख्तछन्, साधु कडी भेषमा डुल्छन्, भक्त हुन्छन् । केही वानप्रस्थका रूपमा पनि त्यस्ता गुप्तचरले तोकिएका काम तापसले गर्दछन् । यज्ञकर्ता, विदेशमा रहने, राजदूत, यज्ञको निरीक्षण गर्ने, ब्रह्माको छद्मभेष धारण गर्ने, दारी जुंगा, लठ्ठा पाल्ने जपशील, यज्ञ गराउँदै आचार्य बनेर हिँड्ने, यस्ता सत्री गुप्तचर हुन् । यिनका काम राज्यले तोकेको हुन्छ । सोही अनुरूप भूमिका निभाउने काम गर्दछन् । फलामको काम गर्ने, पुल पुलेसा बनाउने, विष झार्ने र किरा मार्ने, हरितालको व्यवसाय गर्ने, जवाखर, युद्ध रुचाउने, बोलीचालीका कडा, समाजमा आन्दोलनमा कडा स्वरूपमा प्रस्तुत हुने, अत्यन्त तातो फलामसँग खेल्ने र औषधि व्यापार गर्ने, खुद्रा व्यवसायी र एमआर बनेर काम गर्ने गुप्तचरहरू तीक्ष्ण हुन् । अनाज किनबेच गर्ने काटाको काम गर्ने, भत्ता राशन भाग लाएर आआफ्ना अंश, हिस्सा छुट्टयाइदिने, सेना, जनपद, सशस्त्रका लागि राशन र रसोइया काम गर्ने, भान्से र चुल्हाचौके गर्नेहरू रसद गुप्तचर हुन् । भिखारी, साधु, भिक्षाले जीविका गर्ने, र महिलाहरू साधुभेषमा रहने, कुटी बनाएर बस्ने भिक्षुकी हुन् । यिनीले महिला साधुको निरीक्षण अनुसन्धान गर्दछन् । तर नेपालका गुप्तचरले कापटिक, उदास्थित, गृहपतिक, वैदेहक, तापस, सत्री, तीक्ष्ण, रसद, भिक्षुका आधारमा न नियुक्ति हुन्छन् न नियुक्ति पाएकाहरूबाट नामअनुसारका काम गर्छन् । यसर्थः देशका खुफियाबाट उद्देश्य र लक्ष्य प्राप्तिका आधारमा सार्वभौम नेपालको भूराजनीति र उम्दा छिमेकीका कार्यलाई हेरेर परिणाम दिन सकेका छैनन् ।
लेखक महेन्द्र मोरङ क्याम्पस, विराटनगरका पूर्वप्रमुख हुन्।