यतिखेर नेपालको समकालीन राजनीति तीव्र ध्रुवीकरणको चरणमा प्रवेश गरिसकेको छ । एकातिर पुराना राजनीतिक दलहरू आफ्नो अस्तित्व जोगाउने नाममा विचार मिल्ने, नमिल्ने जुनसुकै शक्तिसँग पनि गठबन्धन गर्न तयार रहेका देखिन्छन् भने अर्कातिर ‘वैकल्पिक राजनीति’को दाबी गर्दै ऊदाएका नयाँ शक्ति र व्यत्तिहरू पनि आपसी सहकार्य र एकताको प्रयासमा छन् ।
यही परिवेशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कुलमानबीच देखिएको सहकार्यलाई लिएर व्यापक बहस सुरु भएको छ । कतिपयले यसलाई वैकल्पिक राजनीतितर्फको आशाजनक यात्रा मानेका छन् भने कतिपयले यसलाई असैद्धान्तिक, अवैचारिक, कार्यक्रमहीन र व्यक्तिकेन्द्रित गठबन्धनका रूपमा हेरेका छन् । कुलमानको भूमिका फरक सन्दर्भको भए पनि बालेन र रवि दुवै वर्तमान नेपाली राजनीतिमा जनताको नकारात्मक मनोविज्ञानलाई उचाल्दै र सस्तो प्रचारबाजीमार्फत उदाएका पात्र हुन् । उनीहरूको लोकप्रियता मुख्यतः पुराना राजनीतिक दलप्रति जनतामा रहेको वितृष्णा र असन्तोषलाई सम्बोधन गर्नेशैलीमा निर्माण भएको हो ।
दुवै पुराना राजनीतिक दल र स्थापित निष्ठाका विरुद्ध उभिएका छन् र सामाजिक सञ्जालमार्फत नकारात्मक विषयलाई उछाल्दै सहरी जनमतमा स्थापित भएका हुन् । तर सस्तो लोकप्रियता र सक्षम नेतृत्व एउटै कुरा होइनन् । उनीहरूको सार्वजनिक अभिव्यक्ति र एकताको सम्झौतामा राज्यको स्वरूप, संघीयता, सामाजिक न्याय, आर्थिक नीति एवं परराष्ट्र नीतिजस्ता आधारभूत विषयमा स्पष्ट र सुसंगत दृष्टिकोण देखिँदैन । अहिलेको ज्वलन्त आवश्यकता बनेको संविधानको संरक्षण र संशोधनका सम्बन्धमा केही बोलिएको छैन । पुराना दलहरूको आलोचना गर्नु आफैंमा समग्र राजनीतिक दर्शन बन्न सक्दैन । उनीहरूमा देखिएको मूल प्रवृक्ति राजनीतिक विचार र कार्यत्रमभन्दा बढी ‘स्टन्टबाजी’मा केन्द्रित देखिन्छ । सामाजिक सञ्जालमार्फत चर्चामा आउने शैलीले क्षणिक जनसमर्थन त जुटाउन सक्छ तर दीर्घकालीन राजनीतिक विश्वसनीयता निर्माण गर्न सक्दैन । बालेनलाई अहिले नै प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने चर्चा पनि यही स्टन्टबाजी राजनीतिसँग जोडिएको देखिन्छ ।
स्थानीय तहमा केही सुधारात्मक अभ्यास गर्नु र राष्ट्रिय स्तरमा बहुआयामिक राज्य सञ्चालन गर्नुका बीच ठूलो अन्तर हुन्छ । प्रधानमन्त्री बन्ने कुरा केवल लोकप्रियताको विषय होइन; त्यो संस्थागत संरचना, संसदीय अभ्यास, कूटनीति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय जिम्मेवारीसँग प्रत्यक्षरूपमा जोडिएको गम्भीर विषय हो ।
यद्यपि बालेन र रविको सहकार्यलाई अहिले नै पूर्णरूपमा नकार्नु पनि उचित हुँदैन । पुरानो राजनीतिक अभ्यासबाट निराश भएका नागरिकका लागि नयाँ शक्ति र नयाँ गठबन्धनले केही आशा जगाउनु स्वाभाविक नै हो । यदि यो सहकार्य वैचारिक बहस, साझा कार्यक्रम र संस्थागत विकासतर्फ उन्मुख हुन सक्यो भने त्यसले सकारात्मक परिणाम पनि दिन सक्छ तर उनीहरूको आशंकित शक्तिस्रोत, स्वभाव र हालसम्म देखिएको राजनीतिक प्रवृत्तिलाई हेर्दा यो सहकार्य दिगो हुने आधार कमजोर देखिन्छ ।
वर्तमानमा उनीहरूको सहकार्य स्पष्टरूपमा व्यक्तिकेन्द्रित राजनीतितर्फ झुकेको देखिन्छ । साझा घोषणापत्र, स्पष्ट कार्यदिशा र दीर्घकालीन लक्ष्यबिनाको एकता दीर्घकालीनरूपमा टिक्न सक्दैन । नेपालको राजनीतिक इतिहासले पनि देखाएको छ कि विचारभन्दा व्यक्तिमा आधारित गठबन्धनहरू स्वार्थको टकराव वा चुनौती आउनेबित्तिकै विघटन भएका छन् । यसकारण, बालेन र रविको यो एकताले तत्काल केही उत्साह र आशा त जगाउन सक्छ तर दीर्घकालीनरूपमा टिक्ने आधार भने कमजोर नै छ । दुवैको राजनीतिक पृष्ठभूमि, कार्यशैली र प्राथमिकताबीच गहिरो अन्तर देखिन्छ । सत्ता र जिम्मेवारीको प्रश्न आउँदा उनीहरूबीच टकराव हुने सम्भावना उच्च छ ।
आजको आवश्यकता भावनात्मक नाराभन्दा सैद्धान्तिक, विवेकपूर्ण र संस्थागत विकल्पको हो । नयाँ अनुहार आफैंमा समाधान होइन, नयाँ सोच, स्पष्ट नीति र दीर्घकालीन प्रतिबद्धता मात्रै वास्तविक विकल्प हुन सक्छन् ।
बालेन, रवि, कुलमान वा अन्य कुनै नयाँ शक्ति साँच्चिकै परिवर्तनको संवाहक बन्न चाहन्छन् भने उनीहरूले आफ्ना नीति, कार्यक्रम र गन्तव्य स्पष्ट पार्दै देश कसरी चलाउने ? भन्ने प्रश्नको गम्भीर र जिम्मेवारीपूर्ण उत्तर दिनैपर्छ । नत्र अहिले देखिएको उत्साह केही समयको तरंग बनेर हराउने निश्चित छ । सुशासन, भ्रष्टाचारको अन्त्य र परिवर्तनका कुरा स्टन्ट वा दिवास्वप्नमा होइन, विचार, कार्यक्रम र दीर्घकालीन प्रतिबद्धतामा आधारित हुनुपर्छ । लेखक त्रिविका प्राध्यापक हुन् ।