नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड हो भन्ने कुरा कुनै भावनात्मक अभिव्यक्ति मात्र होइन, इतिहासले बारम्बारे प्रमाणित गरिसकेको यथार्थ हो । राणा शासनको निरंकुशताविरुद्ध जनतालाई संगठित गर्ने साहसदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाविरुद्धको निरन्तर संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को ऐतिहासिक आन्दोलन हुँदै संविधानसभा, गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रसम्म आइपुग्दा नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको इतिहास सत्ता प्राप्तिको मात्र इतिहास होइन; यो त्याग, बलिदान, वैचारिक संघर्ष र जनताको अधिकारको पक्षमा उभिने निरन्तर यात्राको इतिहास हो ।
तर राजनीति कुनै संग्रहालय होइन, जहाँ इतिहास सुरक्षित राखेर मात्र भविष्यको यात्रा तय गर्न सकियोस् । समयसँगै समाज बदलिन्छ, चेतना बदलिन्छ, अपेक्षा बदलिन्छ, र त्यहीअनुसार राजनीतिक दलले पनि आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ । यदि इतिहासको गौरवलाई ढाल बनाएर वर्तमानका कमजोरी ढाक्ने प्रयास गरियो भने, त्यो गौरव नै क्रमशः बोझमा रूपान्तरण हुन्छ ।
आज नेपाली कांग्रेस यही संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । बाहिरबाट हेर्दा कांग्रेस सरकारमा छ, सत्ता साझेदारीमा छ र निर्णय प्रक्रियाको हिस्सेदार पनि छ । तर पार्टीभित्र गहिरिएर हेर्दा संगठनात्मक शिथिलता, आन्तरिक संवादको अभाव, कार्यकर्तामा बढ्दो निराशा र सीमित व्यक्तिको वर्चस्व रहेको अनुभूति व्यापक छ । स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसका कार्यकर्ताले पार्टी आफ्नै जस्तो नलाग्ने गुनासो गर्न थालेका छन् । चुनावी मैदानमा कांग्रेस एक्लै उभिन हिच्किचाइरहेको देखिन्छ । गठबन्धन राजनीति बाध्यताझैं बनेको छ । यस्तो अवस्थामा पार्टीभित्र विशेष महाधिवेशनको माग उठ्नु अस्वाभाविक होइन, बरु ढिलो उठेको आवाज हो ।
लोकतान्त्रिक पार्टीको आत्मा नै अधिवेशन हो । अधिवेशन भनेको केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र होइन; यो आत्मसमीक्षा गर्ने, कमजोरी स्वीकार गर्ने, नीतिगत बहस गर्ने र भविष्यको कार्यदिशा तय गर्ने साझा मञ्च हो । नेपाली कांग्रेसको विधानले नियमित महाधिवेशनसँगै विशेष महाधिवेशनको पनि व्यवस्था गरको े छ । त्यसैले विधानअनुसार विशेष महाधिवेशनको माग गर्नु पार्टीविरोधी कार्य होइन; बरु पार्टीभित्र लोकतन्त्र जीवित छ भन्ने प्रमाण हो । विडम्बना के छ भने आज यही वैधानिक मागलाई शंकाको दृष्टिले हेरिँदैछ– मानौं प्रश्न उठाउनु नै अपराध हो र बहस गर्नु नै विभाजनको संकेत हो । यस्तो सोच कांग्रेसको ऐतिहासिक चरित्रसँग मेल खाँदैन । कांग्रेस कहिल्यै प्रश्नविहीन पार्टी बनेको छैन । यसको इतिहास नै प्रश्न, बहस र असहमतिको इतिहास हो । २०६२/६३ को जनआन्दोलन यसैको ज्वलन्त उदाहरण हो । त्यो आन्दोलन केवल सडकको भीडले मात्र सफल भएको थिएन; त्यसको सफलता पछाडि पार्टीभित्रको गहिरो आत्मसमीक्षा, रणनीतिक बहस र समयमै सही निर्णय लिन सक्ने राजनीतिक साहस थियो । त्यतिबेला पनि कांग्रेसभित्र मतभेद थिए, नेतृत्वप्रति आलोचना थिए र रणनीतिमा असहमति थिए । तर ती असहमति दबाइएनन्; तिनलाई बहसमा ल्याइयो र सहमतिमा रूपान्तरण गरियो । यदि त्यसबेला असन्तुष्ट आवाजलाई पार्टीविरोधी भनेर निषेध गरिएको भए, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्भव हुने थिएन ।
आजको सन्दर्भमा पनि यही ऐतिहासिक चेतनाको आवश्यकता छ । तर आजको चुनौती सत्ता परिवर्तनभन्दा फरक छ– यो संगठन पुनर्निर्माणको चुनौती हो । कांग्रेस किन जनताबाट टाढिँदै गएको अनुभूति भइरहेको छ ? किन युवा पुस्ता कांग्रेसप्रति आकर्षित हुन सकेको छैन ? किन पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी छैन भन्ने गुनासो बढ्दै गएको छ ? यी प्रश्नको उत्तर कुनै एक व्यक्तिमाथि दोष थोपरेर, आलोचकलाई चुप लगाएर वा समस्यालाई अस्वीकार गररे पाउन सकिँदैन । यसको उत्तर खुला बहस, आत्मआलोचना र संगठनात्मक सुधारमा निहित छ । विशेष महाधिवेशन यही बहसको वैधानिक र लोकतान्त्रिक माध्यम हो । भदौ २३ र २४ मा देखिएको जेनजी आन्दोलनले नेपाली राजनीतिलाई गम्भीर सन्देश दिएको छ । त्यो आन्दोलन कुनै दलविशेषविरुद्ध लक्षित थिएन, न त कुनै घटनाप्रतिको क्षणिक प्रतिक्रिया मात्र थियो । त्यो पुरानो शैलीको राजनीति, अपारदर्शी निर्णय प्रक्रिया, उत्तरदायित्वको अभाव र युवाको आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिविरुद्धको आक्रोश थियो । जेनजी पुस्ता इतिहास सुन्न चाहन्छ, तर त्यसमा सीमित रहन चाहँदैन । उनीहरू वर्तमानको जवाफ र भविष्यको स्पष्ट दृष्टि खोज्छन् । उनीहरू नेतृत्वबाट नैतिकता, पारदर्शिता र जवाफदेहिता अपेक्षा गर्छन् । यदि कांग्रेसले यो पुस्तासँग पुनः सम्बन्ध गाँस्न चाहन्छ भने, पार्टीभित्रै लोकतन्त्र अभ्यास गर्नुपर्छ । विशेष महाधिवेशन यही अभ्यासको प्रारम्भिक बिन्दु हो ।
यही सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चालेको कदमलाई हेर्नुपर्छ । उनीहरूको पहल कुनै व्यक्तिगत महत्त्वाकांक्षाबाट प्रेरित छैन; यो पार्टीलाई समयसापेक्ष बनाउने वैचारिक हस्तक्षेप हो । महामन्त्रीको हैसियतले संगठनको अवस्था, कार्यकर्ताको मनोविज्ञान र जनतासँगको सम्बन्धबारे प्रश्न उठाउनु उनीहरूको अधिकार मात्र होइन, दायित्व पनि हो । उनीहरूले उठाएका प्रश्नहरू असहज हुन सक्छन्, तर सुधारका लागि असहज प्रश्न अपरिहार्य हुन्छन् । सहजतामै रमाइरहँदा पार्टी बिस्तारै निष्क्रिय बन्छ ।
महामन्त्रीद्वयको कदमलाई समर्थन गर्नु भनेको कुनै व्यक्तिको पक्ष लिनु होइन; यो कांग्रेसको संस्थागत भविष्यको पक्ष लिनु हो । विशेष महाधिवेशनको मागले नेतृत्वलाई स्पष्ट सन्देश दिन्छ– कांग्रेस कुनै एक व्यक्तिको सम्पत्ति होइन, यो लाखौँ कार्यकर्ताको साझा संस्था हो । नेतृत्वले आलोचनालाई शत्रुता ठान्नु हुँदैन । आलोचना सुधारको आधार हो । सहकार्य कमजोरी होइन, परिपक्वताको संकेत हो । आज कांग्रेसलाई आदेशात्मक होइन, समन्वयात्मक नेतृत्व शैलीको आवश्यकता छ । गठबन्धन राजनीति आजको यथार्थ हो । तर गठबन्धन दीर्घकालीन समाधान होइन । यसले अल्पकालीन सत्ता व्यवस्थापन गर्न सक्छ, संगठन निर्माण गर्न सक्दैन । कांग्रेस यदि सधैं अरूको सहारामा चुनाव लड्न बाध्य रह्यो भने, पार्टीको आत्मविश्वास र जनविश्वास दुवै कमजोर हुँदै जान्छ । एक्लै चुनाव लड्न सक्ने संगठनात्मक क्षमता, स्पष्ट वैचारिक लाइन र जनतामा भरोसा निर्माण गर्नु आजको आवश्यकता हो । यसको सुरुवात विशेष महाधिवेशनबाटै हुनुपर्छ ।
अधिवेशन टारिरहनु सबैभन्दा ठूलो राजनीतिक भूल हो । विधानले तोकेको समयमा अधिवेशन नगर्नु भनेको पार्टीभित्रै लोकतान्त्रिक अभ्यास कमजोर बनाउनु हो । जब पार्टीभित्र विधान कार्यान्वयन हुँदैन, तब पार्टीले राज्य सञ्चालनमा सुशासनको कुरा गर्दा आफ्नो विश्वसनीयता गुमाउँछ । इतिहासले देखाएको छ—अधिवेशन टार्दा असन्तोष बढ्छ, गुटबन्दी बलियो हुन्छ र पार्टीबाहिर नकारात्मक सन्देश जान्छ । कांग्रेसले विगतका यस्ता अनुभवबाट पाठ सिक्नुपर्छ । आगामी निर्वाचनको सन्दर्भमा कांग्रेस निर्णायक मोडमा उभिएको छ । निर्वाचनअघि वा पछि हुने अधिवेशनले पार्टीको भावी यात्रामा गहिरो प्रभाव पार्नेछ । निर्वाचनअघि अधिवेशन भए संगठन एकताबद्ध हुन्छ, कार्यकर्तामा उत्साह पैदा हुन्छ र नेतृत्व वैधानिक जनादेशसहित चुनावी मैदानमा उत्रन सक्छ । निर्वाचनपछि अधिवेशन भए त्यसले चुनावी परिणामको समीक्षा र सुधारको मार्ग तय गर्छ । तर दुवै अवस्थामा अधिवेशन टार्नु भनेको असन्तोषलाई थप मलजल गर्नु हो ।
२६ गते काठमाडौं आउनु कुनै व्यक्ति वा समूहको समर्थन मात्र होइन; यो कांग्रेसलाई पुनः संगठित गर्ने अभियानमा सहभागी हुनु हो । यो २०६२/६३ को चेतनालाई पुनः स्मरण गर्नु हो र जेन–जी आन्दोलनले दिएको सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्न तयार भएको संकेत हो । विशेष महाधिवेशन सफल बनाउनु भनेको पार्टी फुटाउनु होइन—जोड्नु हो । तोड्नु होइन—सुधार गर्नु हो । व्यक्ति होइन– अहंकार तोड्नु हो । अन्ततः नेपाली कांग्रेसको भविष्य कुनै एक निर्णय, कुनै एक महाधिवेशन वा कुनै एक निर्वाचनमा मात्र निर्भर छैन । तर सही समयमा सही निर्णय लिन सक्ने क्षमतामै यसको भविष्य निर्भर छ । आज विशेष महाधिवेशनको बहस त्यही सही निर्णयतर्फको प्रयास हो । यसका लागि डर होइन, साहस चाहिन्छ; शंका होइन, विश्वास चाहिन्छ; विभाजन होइन, सहकार्य चाहिन्छ । फोडौं होइन—अहंकार तोडौं । कांग्रेसलाई जोडौं, बलियो बनाऔं र फेरि जनतामाझ गर्वका साथ जाऔं । यही बाटोले मात्र कांग्रेस पुनः जनताको भरोसाको पार्टी बन्न सक्छ ।
लेखक संचार क्षेत्रमा क्रियाशील छन् ।