महेन्द्र चालिसे
नेपाली राजनीति विचार, सिद्धान्त र आस्थाको प्रतिस्पर्धाभन्दा पनि अंकगणितीय समीकरण र समय–समयमा चल्ने ‘हावा’को परिणाम हो भन्ने तथ्यलाई पछिल्ला सबै चुनावी नतिजाले पुष्टि गरिसकेका छन् । काठमाडौंमा उठेको हावाले धरानदेखि धनगढीसम्म मतको दिशा बदलिदिएको उदाहरण ताजै छ । २०६४ मा माओवादी, २०६९ मा राप्रपा नेपाल, २०७९ मा रास्वपा, यी सबैको उदयको साझा कारण एउटै थियो; त्यतिबेलाको हावा । देश चुनावतर्फ अघि बढ्दै गर्दा प्रश्न उठ्छ– यसपटक कस्तो हावा चल्ला ? त्यो हावाले कांग्रेस, एमाले, माओवादी र रास्वपालाई कहाँ पु¥याउला ?
कांग्रेस : संगठन छ पनि छैन पनि
नेपाली कांग्रेस अझै पनि देशकै सबैभन्दा फैलिएको संगठन भएको दल हो । स्थानीय तहदेखि केन्द्रसम्म यसको संरचना बलियो देखिन्छ । तर पछिल्ला वर्षहरूमा कांग्रेससँग हावा छैन, केवल गणित छ भन्ने टिप्पणी बढ्दै गएको छ । कांग्रेस नेतृत्व स्थायित्व, अनुभव र ‘मध्यमार्गी लोकतन्त्र’को कुरा गर्छ । तर यो कुरा आजको मतदाताको भावनासँग कति जोडिएको छ भन्ने प्रश्न गम्भीर छ ।
सरकारमा रहँदा देखिएको निर्णयहीनता, गुटगत राजनीति र परिवर्तनको स्पष्ट एजेण्डाको अभावले कांग्रेसलाई हावाविहीन संगठनजस्तो बनाइरहेको छ । यदि ८२ मा कुनै ‘स्थिरताविरुद्ध अराजकता’ को हावा चलेमा कांग्रेस लाभको अवस्थामा रहला । तर ‘नयाँपन’ वा ‘आक्रोश’को हावा चल्यो भने कांग्रेस गणितमै सीमित हुने जोखिममा छ ।
एमाले : बलियो आधार, निर्बल ध्रुवीकरण
एमालेको अवस्था कांग्रेसभन्दा फरक छ । यसको कोर भोट बैंक स्पष्ट र अनुशासित छ । राष्ट्रवाद, विकास र बलियो नेतृत्वको कथ्य एमालेको स्थायी हतियार हो । तर यही कारण एमाले नयाँ मतदाता तान्नभन्दा आफ्नै घेराभित्र घुमिरहेको देखिन्छ । ओली नेतृत्वप्रतिको ध्रुवीकरण एमालेका लागि शक्ति पनि हो, कमजोरी पनि हो ।
यदि ८२ मा ‘कडा नेतृत्व’ र ‘राष्ट्रिय स्वाभिमान’को हावा चल्यो भने एमाले पहिलो वा दोस्रो शक्ति बन्न सक्छ । तर परिवर्तनको आकांक्षा बलियो भयो भने एमाले पुरानै अनुहारका रूपमा चित्रित हुने सम्भावना छ । एमाले हावामा होइन, आधारमा चुनाव लड्ने दल हो । त्यसैले यसको नतिजा पनि प्रायः अनुमानयोग्य दायरामै सीमित देखिन्छ ।
माओवादी : हावा सकिएको रूप
माओवादी २०६४ को हावाको सबैभन्दा ठूलो लाभार्थी थियो । तर आज आइपुग्दा त्यो हावा लगभग समाप्त भइसकेको छ । युद्ध, परिवर्तन र क्रान्तिको कथ्य अब मतदातालाई उत्साहित गर्न सक्ने अवस्थामा छैन । माओवादीको मुख्य समस्या पहिचानको संकट हो; न यो अब विद्रोही रह्यो, न पूर्ण संस्थागत दल बन्न सक्यो । सरकारमा सहभागिता जनाए पनि डेलिभरी कमजोर, संगठन खस्किँदो र नयाँ पुस्तासँग संवाद लगभग टुटेको देखिन्छ । यदि २०८२ मा कुनै ‘वैकल्पिक वाम’ वा ‘सामाजिक न्याय’ को हावा चलेन भने माओवादी संकुचनको दिशामा जाने सम्भावना बलियो छ । यसको भविष्य गठबन्धनको अंकगणितमा बढी निर्भर देखिन्छ, जनहावामा होइन ।
रास्वपा : हावाको निरन्तरता कि थकान ?
रास्वपा २०७९ को सबैभन्दा ठूलो आश्चर्य थियो । यो दल स्पष्टरूपमा हावाको उपज हो; आक्रोश, निराशा र नयाँ अनुहारको चाहनाले बनाएको हावा । तर हावा टिकिरहन्छ कि बदलिन्छ, यही नै रास्वपाको परीक्षा हो । यदि रास्वपाले २०८२ को चुनावसम्म केही देखिने डेलिभरी गर्न सकेन भने हावा उल्टिन सक्छ । नेपाली राजनीतिमा हावाले जति छिटो उचाल्छ, त्यति नै छिटो झार्ने इतिहास रहिआएको छ । तर यदि सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक संस्कारको छवि जोगाउन सक्यो भने रास्वपा हावाबाट आधारतर्फ सर्ने सम्भावना राख्छ । रास्वपाको जोखिम पनि यही हो; हावामै अड्किने कि संस्थागत बन्ने ?
आगामी चुनाव कुनै एक दलको स्पष्ट जितभन्दा पनि हावाको दिशाले अंकगणित कसरी फेरिन्छ भन्ने प्रश्नमा निर्भर देखिन्छ । कांग्रेस र एमाले संगठन र आधारमा टिकेका छन्, माओवादी अस्तित्व जोगाउने संघर्षमा छ, र रास्वपा हावाको परीक्षणमा छ । अन्ततः नेपाली चुनावमा प्रश्न सधैं एउटै रहन्छ– विचार को सही छ भन्ने होइन, हावा कता बग्छ ? अब पनि मत त्यतै खस्नेछ, जहाँ हावा चल्नेछ ।