चौतारीमा जम्मा भई चेलीबेटी नाच्नलाई
मादल अनि तीजे भाका घन्क्यो बरिलै
छम्म छम्म आफ्नै शुर आफ्नै ताल तीजको
संस्कृति र अध्यात्मको शृंगार बरिलै ।।
हिन्दू चाडपर्वहरू सबै नै मानव जीवन विकासक्रम, संस्कृति, परम्परा, प्राकृतिक जीवनशैली, धार्मिकता, आध्यात्मिकता, सकारात्मक सोच अनि श्रद्धा र आत्मीयताले पूर्ण छन् । यी पर्वहरूले जीवनमा वैज्ञानिकता, व्यवहारिकता र समग्र जीवनशैलीलाई प्रस्तुत गरेका हुन्छन् । विशेष गरी तीज, सांस्कृतिक रूपमा समृद्ध परम्परा हो । तीजलाई मात्र व्रत वा नाचगानको पर्व भनेर सीमित गर्न सकिँदैन ।
महिलाहरूका लागि तीजले जीवनका विविध आयामहरूमा स्पर्श गर्छ, जस्तैः शारीरिक, मानसिक र आध्यात्मिक । तीज आउँदा केवल घर, आँगन मात्र रंगिन्छन् भन्ने होइन, मन र आत्मा पनि उज्यालो हुन्छन् । बिहानको पूजामा बोलिएका मन्त्र, दिदीबहिनीको हाँसो, र भक्ति गीतको मिठास, यी सबै मिलेर महिलाको अन्तर्मनमा अद्भुत शान्ति भरिन्छ ।
पर्व भनेको बाहिरको धूमधाम मात्र होइन, भित्रको नीरवता पनि हो । नृत्य गर्दा शरीर हल्लिन्छ, तर मन शान्त हुन्छ । गीत गाउँदा स्वर बग्छ, तर आत्मा स्थिर हुन्छ । यही त पर्वको मर्म हो जहाँ रमाइलो र मौनता दुवै भेटिन्छन् ।
डा. नम्रता पाण्डे
नयाँ अध्यायको स्वागत
तीज पर्वको पौराणिक मान्यता, धर्म, व्रत, विश्वास र सामाजिक मनोभावना जसरी प्रस्तुत गरे पनि विशेष गरी महिलाहरूको लागि प्रत्येक वर्षको नयाँ अध्यायको शुरूवातको रूपमा लिन सकिन्छ । दर खाने परम्परा, स्थानीय परिकार र आमाको हातले पकाएको मिष्ठान्न, आमाछोरी र चेलिबेटीको जमघट, दाजुभाईको प्रेम र श्रद्धा, माइती र चेली एउटा गहन पारिवारिक र सामाजिक समृद्धि झल्किन्छ ।
तीजे भाकाको सृजनामार्फत, शब्दहरू र भावहरूमा लुकेका वर्ष दिनभरीका सुख, दुःख, उपलब्धि, गुनासा र जीवनको अध्याय समेटिएको एउटा अनुभव सृजना हुन्छ । यी सबै प्रक्रियाले विगतका अनुभवलाई सम्झेर उपलब्धि र चुनौतीहरूको मूल्याङ्कन गर्ने अवसर दिन्छ । विगतका राम्रा पक्षलाई आत्मसात गर्दै सुधार्नु पर्ने चिजलाई सुधार्दै, आगामी दिनमा अझ सशक्त भएर अघि बढ्न प्रेरणा दिन्छ ।
जसको स्वरूप शान्त छ, जसले विश्वलाई थामेका छन्, जसको काया आकाश जस्तै विशाल छ, त्यस्ता भगवान शिवलाई म नमन गर्दछु। तिनै भगवान शिवको शिवशक्ति अर्थात् शिवत्वलाई आफूभित्र समाहित गरेर, सर्वत्र शान्ति, श्रद्धा, प्रेम र भक्तिभाव विकास गर्ने जीवनशैलीको अध्याय शुरू गर्नुछ ।
शारीरिक स्वास्थ्य र सकारात्मकता
तीज भन्नासाथ भगवान शिवको आराधना गर्ने, व्रत बस्ने, नाचगान गर्ने, मन्दिर दर्शन गर्ने र सामूहिक रूपमा भेटघाट गर्ने परम्परा छ । यसले महिलाहरूलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्छ । स्वस्थ आहार, अनुशासन र शारीरिक सक्रियता तीजपश्चातको जीवनशैलीमा निरन्तरता दिन पनि मद्दत गर्दछ । भगवानको नाम स्मरण, सेवा र भक्ति आफैंमा स्वस्थ र सकारात्मक ऊर्जा विकसित गर्ने माध्यम हो ।
मन्दिर दर्शन र पूजा अर्चनामा अवधिमा नै किन नहोस् मानसिक शान्ति र सकारात्मकताको भाव वृद्धि हुन्छ । व्रतले सात्विक भोजनको महत्व दर्शाउँछ र सहज ऊर्जालाई कायम राख्दछ । माइती र चेली, दिदीबहिनीका कयौं दिनसम्मको भेटघाट र खानपानले गरिष्ठ बनेको शरीरलाई नाचगानले स्फूर्त र मानसिक रूपमै हल्का र स्वस्थ महसुस गराउँछ । त्यसमाथि महिलाहरूको रातो पहिरन र सौभाग्यको शृंगारले अरू ऊर्जा थपेको हुन्छ । यसले शरीरका निष्क्रिय चक्रहरूलाई पनि उध्र्वगमन गराउन मद्दत गर्दछ ।
व्रत कसरी बस्ने, सात्विक भोजन ग्रहणको कला लगायत सबै वैज्ञानिक र स्वस्थ छन् तर यसलाई रुढिवादी नबनाएर शारीरिक हिसाबले स्वस्थ, मानसिकरूपले स्फुर्त र प्रसन्न अनि भावनात्मक रूपमा श्रद्धा र प्रेमले भरिएको पर्व बनाउनमा स्वयोगदान रहन्छ ।
भए पुगे मिठो खाने र राम्रो लाउने हाम्रो संस्कृति हो तर अरूलाई देखाउनकै लागि पर्वको महत्व हाम्रो संस्कार र धार्मिकता होइन । अनावश्यक देखासिकी बढ्दै जानुले पर्वको महत्व र भावनामा नै आंच आउन सक्छ । हाम्रा पर्व, हाम्रा खानपान, पहिरन, संस्कार र प्रचलन स्वस्थ हुनुपर्दछ, प्रतिस्पर्धी र होडबाजीको होइन ।
मानसिक शान्ति र आध्यात्मिक अभ्यास
तीज केवल बाहिरी उत्सव मात्र नभई आन्तरिक शान्तिको अभ्यास पनि हो । ध्यान, सतर्कता र प्रार्थनामार्फत महिलाले आफ्ना भावनाहरूलाई सम्हाल्ने अवसर पाउँछन् । भगवान शिवको व्रतलाई “साक्षीभाव” अर्थात् आफ्नो मनका प्रक्षेपणलाई निरपेक्ष रूपमा हेर्ने अभ्यास पनि हो । कसैप्रति रिस, राग, द्वेष र कलहको भावना नरहोस्, सामूहिक एकता र मित्रता कायम रहोस् यो तीज पर्वको मर्म हुनुपर्दछ र यसले नै महिलालाई आफ्नो जीवनप्रति सन्तुलन र शान्ति दिन्छ ।
प्रार्थना, भक्ति गीत, र ध्यानजस्ता अभ्यासले महिलालाई आफ्नै भित्रको शक्ति पहिचान गर्न मद्दत गर्छ । महिलालाई बाहिरी चुनौतीभन्दा बढी आन्तरिक शान्ति र शक्तिमा निर्भर रहन सिकाउँछ । वर्षभरीको महिला दिदीबहिनीको आफ्नो दैनिकीको व्यस्तता, परिवार र समाजका जिम्मेवारीबाट केही समय अलग भएर आफ्ना दिदीबहिनीहरूसँग भेटघाट हुनुले भावनात्मक हल्कापन ल्याउँछ । सामाजिक सम्बन्ध बलियो बनाउँछ, र तनाव कम गर्न मद्दत गर्छ ।
मन हल्का हुँदा महिलाहरूले आफ्नो जीवनमा आत्ममूल्य र आत्मविश्वासको अनुभूति गर्छन् । तीजमा हुने दिदीबहिनीहरूको भेटघाटबाट अनुभव साटासाट हुन्छ र परिवार एवं समाजमा सहजीवन र एकताको भावना बलियो बनाउँछ । महिलाले एकअर्काबाट सिक्ने, सहयोग गर्ने र भविष्यका लागि नयाँ संकल्प लिने वातावरण सृजना हुन्छ । यहि भावनाले नै सामुदायिक एकता, सुमधुर सम्बन्ध र सहजीवनको महत्व बढाउँछ ।
सकारात्मकताबाट नै भावनात्मक शुद्धिको विकास हुन्छ । मनमा संचित पिडा, दुःख वा तनाव हराएर आनन्द, हास्य र आत्मीयताको ऊर्जा प्रवाहित हुन्छ । ‘चित्तप्रसादः सुखमूलं सुखस्य च परं धनम् ।’ चित्तको प्रसन्नता नै सुखको मूल हो, र यही नै जीवनको सर्वो त्तम सम्पत्ति हो । मन प्रसन्न भए जीवन स्वाभाविक रूपमा आनन्दमय हुन्छ । तीज पर्व यही प्रसन्नता जगाउने माध्यम हो ।
जीवनलाई अर्थपूर्ण बनाउने अवसर
महिलाको जीवन बहुआयामी हुन्छ, घरव्यवहार, पारिवारिक जिम्मेवारी, सामाजिक भूमिकाहरू, पेशागत करियर, र आफ्नै व्यक्तिगत चाहना अनि आकांक्षा । तीजले भने महिलालाई यिनै विविध पक्षलाई आत्मसात् गर्दै जीवनलाई अर्थपूर्ण र सन्तुलित बनाउन प्रेरित गर्ने अवसर दिन्छ । शारीरिक सक्रियता र अनुशासनबिना जीवनमा सहजता सम्भव हुँदैन । तीजमा गरिने सबै प्रक्रिया र सामूहिक गतिविधिले महिलालाई शरीरमा ऊर्जा र ताजगी दिन्छ ।
स्वास्थ्यको यो अभ्यासले दीर्घकालीन जीवनशैलीमा सकारात्मक प्रभाव पार्छ, जसले महिलालाई आफ्नो दैनिकीमा अझ सबल र आत्मविश्वासी बनाउँछ । जीवनमा बाहिरी जिम्मेवारीसँगै आन्तरिक शान्ति पनि अनिवार्य हुन्छ । तीजका प्रार्थना, गीत, ध्यान र साक्षीभावको अभ्यासले महिलालाई आफ्नै भित्रको शक्ति पहिचान गर्न प्रेरित गर्छ । जब महिलाले आफ्नो आत्मबललाई अनुभूत गर्छिन्, तब जीवनका चुनौतीलाई सहर्ष स्वीकार्ने क्षमता बढ्छ ।
महिलाले जीवनमा दुईवटा प्रमुख भूमिका निर्वाह गर्नुपर्छ, व्यक्तिगत र पारिवारिक । तीजले यी दुई पक्षलाई सँगै अघि बढाउने सन्देश दिन्छ । एकातिर महिलाले आफ्नो स्वास्थ्य, आत्मबल र व्यक्तिगत सपना जोगाउन सक्छिन् भने अर्कोतिर परिवार अनि समाज र संस्कृतिलाई निरन्तरता दिन सक्ने सक्रिय भूमिका पनि निर्वाह गर्छिन् ।
यही सन्तुलनले जीवनलाई सम्पूर्णता दिन्छ । समग्रमा, तीजले हामीलाई व्यक्तिगत र सांस्कृतिक रमाइलो दिन्छ, तर मानवता सधैं पहिलो प्राथमिकता हो । हामी परिवार, दिदीबहिनी र समुदायसँग रमाउँछौं, गीत गाउँछौं, नाच्छौं, तर संसारका अन्य पीडित, असहाय र सहयोगको आवश्यक परेका व्यक्तिलाई पनि सम्झनु हाम्रो कर्तव्य हो । जहाँ करुणा छ, त्यहाँ मानवता बाँच्छ् जहाँ मानवता बाँच्छ, त्यहाँ समाज उज्यालो हुन्छ ।
सबैमा हाँसो र खुसी बाँड्न सक्ने महिला नै दया र प्रेमको वास्तविक साक्षी हुन्छन् । तीजको सन्देश केवल रमाइलो र उत्सव होइन, यो प्रेम र दयाको अभ्यास पनि हो, जुन जीवनभर फैलाउनु पर्छ । शिव–पार्वतीको उपदेशले सिकाउँछ, समान दृष्टि राख्नु, प्रेम र करुणा फैलाउनु। के हाम्रो एकछाक दर ती समुदायको लागि अर्पण गर्न सक्छौं जसलाई वास्तवमै आवश्यक छ ?