नेभिगेशन
दृष्टिकोण

इरानमा अमेरिकाः योजना बिनाको हमला

इरानमाथिको पछिल्लो हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानका लागि आफ्नो दृष्टिकोण स्पष्ट पार्न दबाब परेको छ किनभने इरानमा आक्रमणहरू जारी राखिएको छ र अमेरिका र इजरायलको मिलेमतोमा सुरु भएको सैन्य हमलाका पछिल्ला रिपोर्ट आउँदै गर्दा अमेरिकी नागरिक पनि हताहतीमा परेको खबर आउन थालेका छन् । 
ट्रम्पका आलोचकहरूले ह्वाइट हाउसले अब के हुन्छ भन्ने स्पष्ट पार्नुपर्ने दबाब दिइरहेका छन् । विपक्षीहरू र विश्लेषकहरूको धारणा के छ भने अहिलेसम्म कोरिएको खाका अनुसार एउटा स्पष्ट योजनाको अभावमा अमेरिकालाई एक दीर्घकालीन द्वन्द्वमा फस्ने खतार बढ्दै गएको छ । अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा आलोचित र विश्व शान्तिमै खलल पु¥याउने भूमिका निर्वाह गरेका राष्ट्रपति ट्रम्पलाई इरान काण्डमा अमेरिका नराम्रोसँग लामोसम्म फस्ने देखिरहँदा उनीमाथि आलोचना बढ्नु स्वभाविक हो । यस्तो हुँदैन भनेर ट्रम्पले बारबार वाचा गरे पनि घरभित्रको मामिला मिलाएजस्तो विदेशी मामिला त्यो पनि युघजनित मामिला मिलाउन ट्रम्पलाई मात्र होइन पुरै अमेरिकालाई पनि सहज हुने छैन ।
यस सन्दर्भमा वासिङ्टनस्थित मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो र इरान विशेषज्ञ एलेक्स वातन्काको भनान मननयोग्य उ । उनका अनुसार प्रशासनसँग कुनै योजना छ भने त्यसलाई सार्वजनिक गरिनुपर्छ । यसो भयो भने वातावरण र परिस्थिति विश्वसनीय बन्न जाने उनको आकलन होला भन्ने अनुमान गर्न गाह्रो छैन । थपमा उनले के भनेका छन् भने यो हमला सैन्य कारबाहीमा सीमित नभइ अब इरानसँगको प्रशासनिक संलग्नता के हुने भन्ने कुरामा पनि निर्भर रहनेछ । त्यसैले पनि यो अल्पकालीन कारबाहीमा सीमित नभएर दीर्घकालीन संलग्नता हुने देखिएको तर्फ उनले इंकित गरेका हुन् ।
रमाइलो के छ भने सन्की र रिसाहाको छवि भएका राष्ट्रपति ट्रम्पले सन् २००३ को इराक आक्रमणलाई गल्ती भन्दै पटक–पटक निन्दा गरेका थिए । तर अवस्था कसरी विससित भयो भने गत जुनमा श्रृंखलाबद्ध आक्रमणहरूमा इरानका आणविक केन्द्रहरूमा हमला गरेर तिनलाई नष्ट गरेको दाबी गरेपछि अहिले इरानमा पुनः आक्रमण गर्न ट्रम्पले ठोस तर्क प्रस्तुत गर्न नसकेको भनेर उनको आलोचना भइरहेको छ । गत हप्ताको स्टेट अफ द युनियन भाषणमा इरानबारे उनका संक्षिप्त टिप्पणीहरूले यसको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइलहरूबाट हुने खतराहरूलाई उल्लेख गरे तर शासन परिवर्तनको कुनै उल्लेख गरेनन् । उनले के पनि बताए भने इरानको कथित सैन्य खतराको मुद्दा कूटनीतिमार्फत समाधान गर्न पहल गरिनेछ ।
डेमोक्र्याटहरूले के शंका गरेका छन् भने इरानमाथि आक्रमण गर्ने निर्णय स्पष्ट रूपमा घोषित लक्ष्य बिनाको अन्तहीन कृत्य हुन सक्छ । यस सन्दर्भमा अमेरिकी तल्लो सदनका गुप्तचर समितिका वरिष्ठ सदस्य जिम हिम्सको तर्क गम्भीर छ । उनले भनेका छन्, हामी इजरायलीहरूसँग मिलेर इरानमा लामो समयसम्म बमबारी गर्न सक्छौं, तर यसले हासिल चाहिँ के हुन्छ ?
उनले थप प्रश्न के गरेका छन् भने उद्देश्य शासन परिवर्तन हो भने बमबारीमार्फत शासन परिवर्तन प्रभावकारी भएको नजीर छैन । किनभने अमेरिकी सैन्य बलले सन्तोषजनक ढंगले शासन परिवर्तन गरेको धेरै उदाहरणहरू छैनन् ।
पूर्व सीआईए अपरेशन अफिसर र हाल अवकाशप्राप्त अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूको संगठनका प्रमुख स्टिभन क्यासले अब के हुनेछ भन्ने योजनाको अभावलाई चिन्ताजनक अवस्था करार गरेका छन् । उनको सुझाव के छ भने ट्रम्प इरानमा शासन परिवर्तनभन्दा पनि आगामी अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने परिस्थिति सिर्जना गर्न इच्छुक हुन सक्छन् ।
अमेरिकाले कोरियाली युद्धदेखि शीतयुद्ध, भियतनाम र पक्कै पनि इराक र अफगानिस्तानबाट निश्चित रूपमा सिकेका कुराहरू मध्ये एउटा कुरा के हो भने युद्ध सुरु गर्नु मात्र पर्याप्त छैन युद्ध अन्त्य कसरी गर्ने भने योजना हुन पनि उत्तिकै आवश्यक रहेको क्यास बताउँछन् ।
इरानका सबैभन्दा शक्तिशाली राजनीतिक व्यक्तित्व र शीर्ष धर्मगुरु, आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि ट्रम्पले बाँकी रहेका कामकुरा गरिने बताएका थिए । तर इरानमाथिको आक्रमण र मध्यपूर्वमा तेहरानको प्रतिशोधका बीच ट्रम्पको चाहना सजिलै पुरा हुने देखिँदैन । फेरि अवस्था कस्तो छ भने अघिल्लो वार्तामा संलग्न अधिकांश मानिसहरू मारिएका छन् । तर उनीहरु मारिएको प्रति ट्रम्पले आफ्नो कुनै सान्त्वना नरहेको जनाउँदै आफूहरुले उनीहरुलाई लामो समय निर्णयका लागि विकल्प दिएको तर उनीहरुकै मुढताका कारण हमला गर्न बाध्य हुनुपरेको बताएर आफू साखुल्ले हुने दाउ खोजिरहेका छन् ।
स्मरण रहोस् उनकै पार्टीका अग्रज जर्ज डब्लु बुस सिनियरले कुवेतलाई नियन्त्रण गरेको आरोपमा इराकमाथि आक्रमण गरेका थिए । उनले कुवेतलाई स्वतन्त्र गराए पनि आखिरमा इराकसँग भने लामो दुश्मनी जारी नै रह्यो जुन जर्ज डब्लु बुस जुनियरको पालामा चरम सिमामा पुग्यो । उनले आम नरसंहारी हतियारको भण्डार रहेको आरोपमा इराकमाथि आक्रमण गरेर इराकको खानीहरुमा नियन्त्रण जमाए । आखिरमा न त इराकमा आम नरसंहारकारी हतियार रहेको पाइयो न त इराकको कुनै घातक आक्रमणको योजना रहेको पुष्टि नै भयो । आज आएर उही रिब्लिकन दलका सन्की राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा अशान्तिको बिजारोपाण गर्दै आक्रमणको शृंखला सुरु गरेका छन् । भोलिका दिनमा अमेरिका र इरानको के कुरा नमिलेर आक्रमण भएको हो भन्ने पुष्टि हुने नै छ । तर त्यतिन्जलेमा ठूलो क्षति हुनेछ र धेरै मुलुकका धेरै जनाले ज्यान गुमाउनु पर्नेछ ।
‘यदि उनी शासन परिवर्तन चाहन्थे भने, त्यहाँ प्रशस्त विपक्षी व्यक्तित्वहरू छन् जसलाई उनले ह्वाइट हाउसमा ल्याउन सक्छन् र भन्न सक्छन्, ‘यो व्यक्ति इरानको अर्को शासक नेता हुनेछ’,’ वातन्काले भने, ‘तर उनले त्यसो गरेरनन् यसैले हामीले के सोच्नुपर्ने देखिएको छ भने शायद उनी अझै पनि उही शासनसँग सम्झौता गर्ने सोचमा छन् ।’ तर त्यो धारणा इरानी प्रतिशोधले बिग्रन सक्छ जसले ट्रम्पलाई कमजोर नदेखिनका लागि कडा कदम चाल्न बाध्य पार्न सक्छ ।
आइतबार इरानले आफ्नै आक्रमणको लहरका साथ प्रतिशोध लिएपछि तीन अमेरिकी सैनिक मारिएको र पाँच घाइते भएको रिपोर्ट गरिएको थियो । ट्रम्पले शनिबार आक्रमणको घोषणा गर्ने आफ्नो भिडियो सन्देशमा शासन परिवर्तनको लागि स्पष्ट समर्थन दिएका थिए, तर इरानी जनतालाई कार्य गर्न आग्रह गर्नु बाहेक यो कसरी हुनुपर्दछ भन्ने बारे थोरै संकेत मात्र दिए ।
(एजेन्सीहरुको सहयोगमा) 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्