जब कसैले हामी ‘एक्लोपनको महामारी’ मा छौँ भन्छन्, त्यो बेला दिइने सल्लाहहरू शंकास्पद रूपमा व्यक्तिगत देखिन्छन् । जिम जानुहोस्, साथी बनाउने एप डाउनलोड गर्नुहोस्, थेरापी लिनुहोस्, वा अझ बढी प्रयास गर्नुहोस् । तर यदि एक्लोपन कुनै व्यक्तिगत असफलता नै होइन भने के गर्ने ?
अमेरिकी स्वास्थ्यविद्ले यसलाई सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेका छन् । अनुसन्धानले के देखाएको छ भने दीर्घकालीन एक्लोपन डिप्रेसन, मुटुसम्बन्धी रोग, र अकाल मृत्युको जोखिमसँग जोडिएको छ । समाचारहरूले के चेतावनी दिन्छन् भने अमेरिकीहरूसँग पहिलेभन्दा थोरै साथी छन् र हामीलाई कसरी धेरै साथी बनाउने भनेर सल्लाह पनि दिइरहेका छन् । मानौँ कि समस्या केवल हाम्रो अनिच्छा वा सीपको कमी हो । हामी बहस गर्छौँ कि स्मार्टफोनले हामीलाई बर्बाद गर्यो वा घरबाट गरिने काम ‘वर्क फ्रम होल’ ले हामीलाई अलग्यायो वा डेटिङ एपहरूले वास्तविक आत्मीयताको ठाउँ लियो ।
तर यदि हामीले गलत प्रश्न सोधिरहेका छौँ भने परिणाम के होला ? व्यक्तिहरू किन एक्लो महसुस गर्छन् भनेर सोध्नुको सट्टा, हामीले के सोध्नुपर्छ भने ‘अपनत्वको पूर्वाधार’ कहाँ हरायो ?
दशकौँदेखि समाजशास्त्री रे ओल्डेनबर्गले तर्क गर्दै आएका छन् कि स्वस्थ समाज ‘तेस्रो स्थान’ मा निर्भर गर्दछ, त्यो भनेको घर र काम बाहिरका अनौपचारिक सार्वजनिक भेटघाट स्थलहरू जहाँ मानिसहरू नियमित रूपमा अन्तरक्रिया गर्छन् र सम्बन्ध बनाउँछन् । जस्तैः टोलका चिया पसल वा खाजाघर, बलिङ लिगहरू, चर्च वा मन्दिरहरू, रुचि समूहहरू, र स्वयंसेवक संस्थाहरू ।
‘थर्ड प्लेस’ नाम दिइएका त्यस्ता ठाउँहरू हुन् जहाँ हामी अरूसँग जोडिन सक्छौँ जुन न हाम्रो घर अर्थात पहिलो स्थान हो, न त कार्यस्थल अर्थात् दोस्रो स्थान नै हो । ‘थर्ड प्लेस’ त्यो ठाउँ हो जहाँ हामी बारम्बार मानिसहरूसँग ठोकिन्थ्यौँ र पछि तिनीहरू वास्तविक साथीमा परिणत हुन्थे । अहिले यस्ता ठाउँहरू घट्दै गएका छन् किनभने थोरै मानिसहरू मात्र क्लब वा धार्मिक सेवाहरूमा जान्छन् । तेस्रो स्थानहरू महत्वपूर्ण छन् किनभने तिनीहरूले नियमित र सहज सम्पर्क सिर्जना गर्छन् जसले मानिसलाई एक्लोपनमा डुब्नबाट जोगाउँछ ।
हामी एक्लोपनलाई एक आन्तरिक भावनाको रूपमा हेर्छौँ, जुन मानिसको भित्र भइरहेको हुन्छ । तर के होला यदि एक्लोपन भावनाभन्दा बढी वातावरणसँग सम्बन्धित छ भने ? के होला यदि यो ती ठाउँहरूको अस्तित्व नासिनुको अनुमानित परिणाम हो जसले पहिले बारम्बार र प्रत्यक्ष भेटघाटलाई सामान्य बनाएका थिए ? त्यस्ता ठाउँका अधिकांश सहभागीहरू कुनै न कुनै रूपमा समुदायमा आबद्ध थिए, चाहे त्यो अनलाइन होस् वा प्रत्यक्ष । ठूलो संख्यामा मानिसहरूका ती समुदायभित्र नजिकका साथीहरू थिए । धेरैले भावनात्मक सहयोग, घर सर्ने वा मर्मत गर्ने काममा व्यावहारिक मद्दत र आर्थिक सहायता वा जागिरको सिफारिससमेत प्राप्त गरेको थिए । कोही व्यक्ति प्रत्यक्ष भेटघाट हुने जमघटहरूमा जति धेरै संलग्न हुन्थे, उनीहरूको सञ्जाल त्यति नै बाक्लो हुन्थ्यो र उनीहरूले त्यति नै बढी ठोस सहयोग प्राप्त गर्थे ।
यो ढाँचाले मित्रता अनुसन्धानसँग परिचित जो कोहीलाई पनि अचम्ममा पार्दैन । मित्रताका समाजशास्त्रीहरूले लामो समयदेखि देखाउँदै आएका छन् कि नजिकको सम्बन्ध विरलै कसैले साथी बनाउँछु भनेर सोचेर मात्र बन्छ । यो बारम्बारको भेटघाट, साझा क्रियाकलाप र बिस्तारै एकअर्कालाई खुल्दै जाने प्रक्रियाबाट बन्छ । तपाईं त्यहाँ पुग्नुहुन्छ र उही मानिसहरूलाई बारम्बार देख्नुहुन्छ र कुरा गर्नुहुन्छ । त्यसपछि, तपाईं प्रत्येक पटक आफ्नो बारेमा अलि बढी खुलाउनुहुन्छ र यसरी विश्वास जम्मा हुन्छ । यसरी नै सामाजिक पुँजी निर्माण हुन्छ ।
मलाई के कुरा घत प¥यो भने कुनै विशेष समुदायले मित्रता पैदा गर्न सक्छ भन्ने होइन रहेछ । बरु त्यो कुराले सम्बन्ध जोगाएर राखेको थियो जुन धेरै मुख्यधाराका ठाउँहरूले गुमाइसकेका छन्, वयस्कहरू बीचको अन्तरक्रिया र भेटघाट । कसैले यो सोच्न सजिलो छ कि मानिस कुनै एउटा सानो उप–संस्कृतिमा जति धेरै लगानी गर्छ, उसको संसार त्यति नै साँघुरो हुन्छ । तर हामीले त्यस्तो पाएनौँ । यस्ता ठाउँहरूमा सक्रिय मानिसहरू अन्य रुचि समूहहरूमा पनि सहभागी हुने सम्भावना बढी थियो । त्यसैले, समुदायले अन्य सम्बन्धहरूलाई विस्थापित गरेको देखिएन । बरु, यसले व्यापक सामाजिक संलग्नतालाई अझ बलियो बनायो ।
यसले बृहत्तर अनुसन्धानलाई प्रतिविम्बित गर्दछ । अध्ययनहरूले निरन्तर देखाउँछन् कि स्वयंसेवी संस्थाहरूमा सहभागिताले जीवनमा उच्च सन्तुष्टि, बढी विश्वास र राम्रो मानसिक स्वास्थ्य परिणामहरू दिन्छ । अर्को शब्दमा, सामाजिक पुँजी संचयी हुन्छः तपाईं जति धेरै सञ्जालहरूको हिस्सा हुनुहुन्छ, तपाईंसँग भावनात्मक र भौतिक दुवै स्रोतहरूमा त्यति नै बढी पहुँच हुन्छ । यदि हामी धेरै वयस्कहरू किन विच्छेदित महसुस गर्छन् भन्ने कुरा बुझ्न चाहन्छौँ भने, मानिसहरूलाई सेल्फ–केयर (स्व–हेरचाह) गर्न, थेरापिस्ट खोज्न वा फोन राख्न भन्नु मात्र पर्याप्त छैन । ती हस्तक्षेपहरूले व्यक्तिहरूलाई सामना गर्न मद्दत गर्न सक्छन्, तर तिनीहरूले पूर्वाधारको पुनर्निर्माण गर्दैनन् ।
हामीले चुपचाप ती धेरै ठाउँहरू भत्काइदिएका छौँ जहाँ वयस्कहरू साझा रुचिका आधारमा बारम्बार एकअर्कालाई भेट्थे । हामी प्रायः एक्लै काम गर्छौँ, र घर गएर एक्लै स्क्रिनमा समय बिताउँछौँ । जब हामी भेला हुन्छौँ, त्यो प्रायः एक पटकको लागि र लेनदेन जस्तो मात्र हुन्छ, र त्यसपछि हामी अचम्म मान्छौँ कि हामी किन एक्लो महसुस गरिरहेका छौँ ।
यसको निष्कर्ष यो होइन कि तपाईं कुनै विशेष क्लबमा जानुहोस् । वयस्कहरूलाई साझा रुचिहरूका वरिपरि बारम्बार र प्रत्यक्ष अन्तरक्रियाको आवश्यकता पर्दछ । उनीहरूले उही मानिसहरूलाई यति धेरै पटक देख्नुपर्छ कि त्यो चिनजान बिस्तारै विश्वासमा परिणत होस् । रोमान्टिक सम्बन्धहरू महत्त्वपूर्ण छन्, तर तिनीहरूले सम्बन्धहरूको व्यापक सञ्जाललाई प्रतिस्थापन गर्न सक्दैनन् । एकै व्यक्तिले हरेक भावनात्मक र सामाजिक आवश्यकता पूरा गरोस् भन्ने अपेक्षा गर्नु कहिल्यै यथार्थपरक थिएन ।
हामी एक्लोपनलाई सिपको कमी भएझैँ गरी मानिसलाई कसरी कम एक्लो बनाउने भनेर सोधिरहन्छौँ । बरु एउटा राम्रो र संरचनात्मक प्रश्न यो हो, वयस्कहरूले उही मानिसहरूलाई सम्बन्ध अपरिहार्य नहुन्जेलसम्म भेटिरहने ठाउँ कहाँ छन् ? जबसम्म हामी यो कुराको निकास निकाल्दैनौं तबसम्म हामी समस्याको उचित निदान गर्नबाट चुकिरहनेछौँ ।
(साइकोलोजी टुडेबाट)