विश्व इतिहासलाई हेर्ने हो भने द्वन्द्व र युद्ध मानव सभ्यतासँगै चल्दै आएको यथार्थ हो । शक्तिको प्रतिस्पर्धा, राजनीतिक स्वार्थ, आर्थिक स्रोतको नियन्त्रण, धार्मिक र सांस्कृतिक भिन्नताले समय–समयमा संसारलाई युद्धको भुमरीमा धकेलेको छ । आजको विश्व पनि त्यसबाट अछुतो छैन । अहिले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले पुनः एकपटक विश्व समुदायको ध्यान खिचेको छ । यो क्षेत्र दशकौंदेखि विश्व राजनीतिको संवेदनशील केन्द्र बनेको छ । तेलको विशाल भण्डार, धार्मिक आस्था, भू–राजनीतिक प्रतिस्पर्धा र महाशक्तिहरूको हस्तक्षेपका कारण मध्यपूर्व सधैं तनावको छायाँमा रहँदै आएको छ । अहिले देखिएको द्वन्द्व केवल स्थानीय राजनीतिक विवाद मात्र होइन, यसको प्रभाव विश्व अर्थतन्त्र, सुरक्षा र मानवीय जीवनसँग गहिरो रूपमा जोडिएको छ ।
मध्यपूर्वमा देखिएको द्वन्द्वले मानवताका सबै नियम र सीमा नाघेको छ । अल जजिरा र गार्जियनजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार इरानको मिनाबमा इजरायली हमलाबाट ध्वस्त विद्यालय भवनमा १६५ जना मारिए जसमध्ये अधिकांश ७ देखि १२ वर्षका बालबालिका थिए । इरानले इजरायलमाथि प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रका कारण इजरायली बालबालिकाहरू पनि सुरक्षित छैनन् । धेरै बालबालिकाहरूले आकाशमा क्षेप्यास्त्रहरू उडेको र ठूला धमाकाहरू सुनिएका कारण राति निदाउन नसक्ने, डराउने र सपनामा झस्किने समस्या देखिएको छ ।
मध्यपूर्वमा देखिएको द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रमा ठूलो असर पारेको छ । अल जजिरा, गार्जियन, र न्यूयोर्क टाइम्सजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले यस द्वन्द्वको व्यापक कभरेज गरेका छन् । अल जजिराका अनुसार इरान र इजरायलबीचको द्वन्द्वले मध्यपूर्वमा अस्थिरता बढाएको छ र विश्वव्यापी अर्थतन्त्रमा असर पारेको छ । गार्जियनले भनेको छ कि यस द्वन्द्वले पेट्रोलियम निर्यातमा अस्थिरता ल्याएको छ र तेल मूल्य वृद्धिले वैश्विक बजारमा दबाब बढाएको छ । न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ कि मध्यपूर्वमा देखिएको द्वन्द्वले विश्व राजनीतिलाई गम्भीर रूपमा तरंगित बनाएको छ र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नयाँ संकटतर्फ धकेलेको छ ।
मध्यपूर्वमा उत्पन्न हुने हरेक राजनीतिक अस्थिरता वा युद्धको प्रभाव धेरै देशहरूले अनुभव गर्ने गरेका छन् । ती देशहरूमध्ये नेपाल पनि एक हो । भौगोलिक रूपमा निकै टाढा भए पनि नेपालको सामाजिक र आर्थिक संरचना मध्यपूर्वसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । यसको प्रमुख कारण वैदेशिक रोजगारी हो । लाखौं नेपाली युवाहरू रोजगारीको खोजीमा मध्यपूर्वका विभिन्न देशहरूमा पुगेका छन् । उनीहरूले त्यहाँ काम गरेर पठाएको रेमिट्यान्सले नेपालका हजारौं परिवारको जीवन चलिरहेको छ । यही कारणले मध्यपूर्वमा हुने कुनै पनि द्वन्द्व नेपाली समाजका लागि केवल अन्तर्राष्ट्रिय समाचार मात्र हुँदैन; त्यो एउटा गम्भीर चिन्ताको विषय बन्छ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका अत्यन्त महŒवपूर्ण छ । धेरै नेपाली परिवारको दैनिक जीवन, शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधि विदेशबाट आउने पैसामा निर्भर छन् । गाउँघरमा बनेका धेरै घरहरू, पढिरहेका छोराछोरी, भइरहेको उपचार र भइरहेको सामाजिक खर्चको आधार यही वैदेशिक आम्दानी हो । मध्यपूर्वका देशहरू नेपाली श्रमिकका लागि सबैभन्दा ठूलो रोजगारी गन्तव्य बनेका छन् । निर्माण, सेवा, सुरक्षा, होटल, घरेलु काम लगायतका क्षेत्रमा हजारौँ नेपाली कार्यरत छन् । उनीहरूले आफ्नो परिवारको भविष्य सुरक्षित गर्नका लागि परदेशमा कठिन परिश्रम गरिरहेका छन् ।
यस्तो अवस्थामा मध्यपूर्वमा युद्ध वा द्वन्द्वको अवस्था उत्पन्न हुँदा त्यसले नेपाली समाजमा गहिरो प्रभाव पार्छ । सबैभन्दा पहिलो चिन्ता त्यहाँ रहेका नेपाली श्रमिकहरूको सुरक्षासँग सम्बन्धित हुन्छ । युद्धको समयमा सबैभन्दा बढी जोखिममा पर्ने समूह सामान्य नागरिक र विदेशी श्रमिकहरू नै हुन्छन् । उनीहरू प्रायः युद्धको राजनीतिक निर्णयसँग सम्बन्धित हुँदैनन् तर परिणाम भने उनीहरूले भोग्नुपर्छ ।
मध्यपूर्वका धेरै देशहरूमा नेपालीहरू निर्माण स्थल, कारखाना, सुरक्षा सेवा वा घरेलु काममा संलग्न छन् । यस्ता क्षेत्रहरूमा काम गर्ने श्रमिकहरूको सुरक्षा व्यवस्थापन धेरै पटक कमजोर हुने गरेको पाइन्छ । द्वन्द्वको समयमा यातायात अवरुद्ध हुन सक्छ, काम बन्द हुन सक्छ, आवास समस्या आउन सक्छ वा आकस्मिक आक्रमणको जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा विदेशी श्रमिकहरू झनै असुरक्षित अवस्थामा पुग्न सक्छन् ।
नेपालीहरूको ज्यान असुरक्षित हुनु केवल व्यक्तिगत त्रास मात्र होइन; त्यो एउटा राष्ट्रिय चिन्ता हो । प्रत्येक नेपाली श्रमिकको जीवनसँग एउटा परिवार जोडिएको हुन्छ । उनीहरूको अनुपस्थितिमा गाउँघरमा रहेका परिवारहरू उनीहरूले पठाएको पैसामा निर्भर हुन्छन् । यदि युद्धको कारणले उनीहरूको जीवन जोखिममा प¥यो भने त्यसले हजारौँ परिवारको भविष्यलाई अनिश्चित बनाउँछ ।
मध्यपूर्वमा रहेका नेपालीहरूका परिवारहरू नेपालमा बसिरहेका हुन्छन् । उनीहरूका लागि समाचारको प्रत्येक शीर्षक चिन्ताको कारण बन्न सक्छ । टेलिभिजन, रेडियो वा सामाजिक सञ्जालमा आउने युद्धसम्बन्धी खबरहरूले परिवारलाई मानसिक रूपमा निकै तनावमा राख्छ । विदेशमा रहेका आफन्त सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता दिनरात सताइरहन्छ । यस्तो मानसिक दबाबले परिवारको सामाजिक र भावनात्मक जीवनमा पनि प्रभाव पार्छ ।
रेमिट्यान्समा आधारित अर्थतन्त्रका कारण नेपालले वैदेशिक परिस्थितिको प्रभाव निकै गहिरो रूपमा अनुभव गर्नुपरेको छ । यदि मध्यपूर्वको द्वन्द्व लम्बियो वा त्यहाँको आर्थिक गतिविधि प्रभावित भयो भने त्यसले रेमिट्यान्समा पनि असर पार्न सक्छ । श्रमिकहरू काम गर्न नसक्ने अवस्था आयो भने उनीहरूले घर पठाउने रकम घट्न सक्छ । यसले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने सम्भावना हुन्छ ।
रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा पनि असर पर्छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि विदेशी मुद्रा अत्यन्त आवश्यक हुन्छ । पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्नलगायत धेरै वस्तु विदेशबाट आयात गरिन्छ । यदि विदेशी मुद्रा आम्दानी घट्यो भने आर्थिक व्यवस्थापन झनै चुनौतीपूर्ण बन्न सक्छ ।
युद्धको अर्को सम्भावित असर भनेको श्रमिकहरूको आकस्मिक स्वदेश फिर्ती हो । यदि द्वन्द्व बढ्यो भने धेरै नेपालीहरू बाध्य भएर घर फर्किन सक्छन् । यस्तो अवस्थामा नेपालभित्र बेरोजगारीको समस्या झनै बढ्न सक्छ । विदेशमा काम गरिरहेका श्रमिकहरू एक्कासि स्वदेश फर्किंदा उनीहरूलाई उपयुक्त रोजगार उपलब्ध गराउन कठिन हुन्छ ।
यसले सामाजिक र आर्थिक दुवै क्षेत्रमा दबाब सिर्जना गर्न सक्छ । विदेशमा काम गरेर आएको श्रमिकसँग केही सीप र अनुभव हुन्छ, तर नेपालमा त्यसलाई उपयोग गर्ने संरचना कमजोर रहेको देखिन्छ । परिणामस्वरूप उनीहरू फेरि बेरोजगार बन्ने वा पुनः विदेश जान बाध्य हुने अवस्था सिर्जना हुन्छ ।
यस्तो चुनौतीपूर्ण परिस्थितिमा नेपाल सरकारको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी हो । कुनै पनि संकटको समयमा सरकारले कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूसँग समन्वय गर्नुपर्छ । आवश्यक परे नेपाली नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने योजना पनि तयार राख्नुपर्छ ।
विदेशस्थित नेपाली दूतावासहरूको भूमिका पनि निकै महŒवपूर्ण हुन्छ । उनीहरूले त्यहाँ रहेका नेपालीहरूको तथ्यांक अद्यावधिक राख्नुपर्छ र आपतकालीन अवस्थामा सहयोग गर्न सक्ने व्यवस्था गर्नुपर्छ । संकटको समयमा सूचनाको अभावले पनि धेरै समस्या सिर्जना हुन्छ । त्यसैले श्रमिकहरूलाई नियमितरूपमा जानकारी उपलब्ध गराउनु आवश्यक हुन्छ ।
दीर्घकालीन रूपमा हेर्दा मध्यपूर्वको द्वन्द्वले नेपाललाई एउटा महŒवपूर्ण पाठ सिकाउँछ । कुनै पनि देशले आफ्नो अर्थतन्त्रलाई एउटै स्रोतमा अत्यधिक निर्भर बनाउनु जोखिमपूर्ण हुन्छ । नेपालले धेरै हदसम्म रेमिट्यान्समा आधारित आर्थिक संरचना निर्माण गरेको छ । यसले अल्पकालीन रूपमा राहत दिएको भए पनि दीर्घकालीनरूपमा जोखिम बढाएको छ ।
यदि बाह्य परिस्थितिमा समस्या आयो भने नेपाली अर्थतन्त्र तुरुन्त प्रभावित हुन्छ । त्यसैले अब नेपालले आन्तरिक आर्थिक सम्भावनाहरूलाई बलियो बनाउन आवश्यक छ । कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रलाई सुदृढ बनाउने नीति अपनाउनुपर्छ । देशभित्र रोजगारी सिर्जना गर्न सकियो भने युवाहरू विदेश जान बाध्य हुने अवस्था कम हुनेछ ।
युवाशक्ति कुनै पनि देशको विकासका लागि महŒवपूर्ण स्रोत हो । तर नेपालमा रोजगारीको अभावका कारण यही शक्ति विदेश पलायन भएको छ । यदि देशभित्र पर्याप्त अवसर सिर्जना गरियो भने यही युवाशक्तिले नेपालको विकासमा ठूलो योगदान दिन सक्छ ।
मध्यपूर्वको द्वन्द्वले हामीलाई यो पनि सम्झाउँछ कि वैदेशिक रोजगारी केवल आर्थिक अवसर मात्र होइन, जोखिमपूर्ण यात्रा पनि हो । विदेश जाने युवाहरूले सुरक्षित श्रम सम्झौता, कानूनी प्रक्रिया, बीमा र श्रमिक अधिकारका विषयमा पर्याप्त जानकारी लिन आवश्यक हुन्छ ।
समाजले पनि विदेशबाट फर्किएका श्रमिकहरूको अनुभवलाई सम्मानपूर्वक ग्रहण गर्नुपर्छ । उनीहरूले सिकेका सीप र ज्ञानलाई देश विकासमा प्रयोग गर्न सकिन्छ । यदि सरकारले उचित नीति ल्यायो भने फर्किएका श्रमिकहरूलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्न सकिन्छ ।
विश्व राजनीतिमा भइरहेका घटनाहरूले साना देशहरूलाई पनि प्रभावित पार्छन् । नेपाल जस्तो विकासोन्मुख देशका लागि यो प्रभाव अझ गहिरो हुन्छ । मध्यपूर्वको द्वन्द्वले नेपाली समाजमा चिन्ता र अनिश्चितता सिर्जना गरेको छ । तर यसले भविष्यका लागि सोच्ने अवसर पनि दिएको छ ।
यदि नेपालले समयमै आफ्नो आर्थिक संरचना सुदृढ बनाउन सक्यो भने बाह्य संकटको प्रभाव कम गर्न सकिन्छ । आन्तरिक उत्पादन बढाउने, उद्योगधन्दा विस्तार गर्ने र रोजगार सिर्जना गर्ने नीति अपनाउन सकेमा देशलाई दिगो आर्थिक मार्गमा अघि बढाउन सकिन्छ ।
अन्ततः मध्यपूर्वमा चलिरहेको द्वन्द्वले एउटा महŒवपूर्ण प्रश्न उठाएको छ— के नेपाल सधैं वैदेशिक रोजगारीमा निर्भर रहने हो वा आफ्नै देशभित्र अवसर सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हो ? लाखौं नेपाली श्रमिकहरूले परदेशमा बगाएको पसिना केवल परिवारको जीवनयापनका लागि मात्र होइन, देशको अर्थतन्त्रका लागि पनि महŒवपूर्ण छ । त्यसैले उनीहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो ।
आजको विश्व आपसमा गहिरो रूपमा जोडिएको छ । एक ठाउँमा भएको युद्धको असर हजारौं किलोमिटर टाढासम्म पुग्छ । मध्यपूर्वको द्वन्द्वले नेपाली समाजलाई यही यथार्थ पुनः सम्झाएको छ । यदि हामीले यसबाट पाठ सिकेर आर्थिक आत्मनिर्भरता, सुरक्षित वैदेशिक रोजगारी र दिगो विकासको मार्ग रोज्न सक्यौं भने भविष्यमा यस्ता संकटले नेपाली समाजलाई कम प्रभावित पार्नेछ । अन्यथा, प्रत्येक अन्तर्राष्ट्रिय द्वन्द्वले नेपाली समाजलाई बारम्बार चिन्ता र असुरक्षाको अवस्थामा राखिरहनेछ । यसैले अहिलेको परिस्थिति केवल चिन्ताको विषय मात्र होइन, गम्भीर आत्ममन्थनको अवसर पनि हो । राष्ट्र, समाज र नागरिक सबैले मिलेर भविष्यको बाटो तय गर्नुपर्ने समय यही हो ।
(लेखक स्वतन्त्र पत्रकार हुन् ।)