नेभिगेशन
दृष्टिकोण

उमेर परिवर्तन र सुन्दरताको आयाम

जीवनलाई सुखी र खुसी बनाउन उमेर अनुसार आउने परिवर्तनलाई स्वीकार्दै आफूले आफैंलाई बुझ्नु जरूरी छ । उमेर बढ्नु जीवनको स्वाभाविक चक्र हो । बाल्यकालदेखि युवावस्था, प्रौढ उमेर हुँदै वृद्धावस्थासम्मको यात्रामा महिलाले धेरै किसिमका अनुभव, चुनौती र परिवर्तन सामना गर्छिन् । हरेक उमेरसँगै शारीरिक रुपान्तरण मात्र होइन, मानसिकता, भावनात्मक र जीवन बुझ्ने दृष्टिकोण पनि फरक हुन्छ । 

मेरी छोरीको रजश्वलाको समय र मेरी आमाको रजनोवृत्तिको समयसँगै म स्वयंको उमेर अनुसार शरीरको हर्मोन परिवर्तनले आउने भावनात्मक परिवर्तनलाई हेर्दा, उमेर अनुसारको प्राकृतिक चक्रलाई आफैंले बुझ्न र अरूलाई बुझाउन जरूरी देखेकी छु। मेरी आमाको समयमा मेडिकल डाक्टरले रजनोवृत्तिको परिवर्तन र मुड स्विंगलाई मानसिक रोगी बनाएर औषधि सेवन गर्न लगाएको घटनाले अहिले पनि चित्त दुख्छ । 

रजनोवृत्तिका आमा दिदीहरूले तौल घटेन, खानामा ध्यान दिन्छु, योग गर्छु, हिँडडुल गर्छु, बेलुका खाना खान्न र पनि मोटाएँ भन्ने गर्नुहुन्छ । अझ अलि सचेत र पहुँच पुगेको परिवारमा त पोषणविदद्वारा खानाको तालिका एवं योग अभ्यासका तालिका तयार गरेर स्वास्थ्यमा ध्यान दिइएको हुन्छ । र, पनि सोचेको जस्तो परिणाम आएन भने बुझ्नुपर्छ शरीरको हर्मोन परिवर्तनको असर हो ।

खानपान र शारीरिक अभ्यासले मात्र होइन शरीरमा उमेर वृद्धिसँगै आउने हर्मोनका कारण हुने परिवर्तनले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । यसबाट चिन्तित हुनुभन्दा परिवर्तनलाई स्वीकार्दै स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ । धेरै नै असहजता हुँदा डाक्टरको सल्लाह र औषधि लिनु ठिकै हो तर जीवनको परिवर्तन र भोगाइलाई आत्मसात गर्दा व्यक्तिको मनोबल बढ्छ र आत्मस्वीकृति हासिल हुन्छ ।

उमेरसँगै आउने स्वाभाविक परिवर्तन

उमेर बढ्दै जाँदा शरीरमा तौल बढ्ने वा घट्ने, छालामा रेखा आउने, कपाल सेतो हुनु स्वाभाविक हुन् । महिलामा हर्मोनल स्तर परिवर्तन हुँदा कहिले शारीरिक लय बदलिन्छ, कहिले भावनात्मक संवेदनशीलता बढ्छ । कहिले भोक धेरै लाग्छ, कहिले खान रुच्दैन, कहिले निद्रा मात्र आउँछ, अल्छि लाग्छ कहिले निद्रा पर्दैन, यी सबै परिवर्तन कमजोरी होइनन्, जीवनका सिंढी हुन् जसले महिलालाई अझ परिपक्व र जीवन बुझ्ने स्तरमा पुर्‍याउँछ । त्यसैले पनि उमेर बढ्नुलाई कमजोरी होइन, अनुभव र ज्ञानको खजाना थपिनु हो भनिन्छ ।

महिलाको जीवनमा रजोनिवृत्ति एउटा महत्त्वपूर्ण अवस्था हो । यस अवधिमा मासिक धर्म बन्द हुन्छ र हर्मोनल परिवर्तनले शरीरमा विभिन्न असर पार्छ । कतिपय अवस्थामा मानसिक तनाव, निद्राको समस्या, शरीरमा तातोपन, चिडचिडाहट वा भावनात्मक उतारचढाव हुन्छ । यो चरणलाई डरको रुपमा होइन, नयाँ अध्यायको रुपमा लिनुपर्छ । यो अवस्था ‘म अब पूर्ण महिलाको जीवन चक्रमा प्रवेश गरेँ’ भन्ने आत्मबोध पनि हो । त्यसैले रजोनिवृत्ति अन्त्य होइन, नयाँ सुरुवात हो । 

यो अवस्थालाई महिला स्वयंले बुझ्ने, घरका परिवारले बुझिदिने र सबैको भावनात्मक सहयोगको खाँचो रहन्छ । किन रिसाएको, किन झर्केको, किन नखाएको, किन धेरै खाएको, किन ननिदाएको जस्ता प्रश्नको ओइरो आउँदा दिने जवाफ हुँदैन त्यसैले महिलाले आफैंले आफैंलाई बुझ्ने र आफ्नो परिवर्तन र अस्थिरतालाई पनि स्वीकार्ने हिम्मत गर्नुपर्दछ ।

dr-gen-z-1755403013.jpg
डा. नम्रता पाण्डे

उमेरसँगै बढ्ने समझदारी

उमेरसँगै महिलामा जीवन बुझ्ने दृष्टिकोण फरक हुन्छ । २० को दशकमा आत्म–खोज, ३० को दशकमा परिवार र करिअर सन्तुलन, ४० र ५० को दशकमा आत्मस्वीकृति र समझदारी गहिरो हुँदै जान्छ । हर्मोनल परिवर्तनले पनि मानसिक परिपक्वता ल्याउँछ । 

सुरुमा तनाव वा असन्तुलन देखिए पनि समयसँगै महिला अझ गहिरो जीवन बोध गर्न सक्षम हुन्छन् । उमेर बढ्दै जाँदा, जीवन बुझ्ने दृष्टिकोण फराकिलो बन्दै जान्छ । तौल र सौन्दर्य जसरी जे छ, त्यसरी नै सुन्दर छ । महिलामा उमेरसँगै तौल बढ्ने वा घट्ने सामान्य कुरा हो । समाजले अक्सर तौल र शरीरलाई सौन्दर्यसँग जोड्छ तर वास्तविक सौन्दर्य आत्मविश्वास र आन्तरिक आभामा हुन्छ ।

सुख र दुख जीवनका रंग

उमेरसँगै महिलाको जीवनमा अनुभवको विविधता आउँछ । बाल्यकाल र युवावस्थाका सपनाहरू, परिवारको जिम्मेवारी, बालबच्चाको पालनपोषण, सामाजिक अपेक्षा र व्यक्तिगत आकांक्षाले जीवनलाई रंगीन बनाउँछन् । कहिले हारको अनुभूति हुन्छ त कहिले सफलताको आनन्द, तर यी सबै क्षणहरू जीवनको असली रंग हुन् ।

महिला केवल आफ्नो अनुभव मात्र होइन, परिवार र समाजको भावनात्मक केन्द्र बन्ने भएकाले यी अनुभूतिहरू अझ महत्वपूर्ण हुन्छन् । कुनै पनि अनुभवलाई ‘सकारात्मक’ वा ‘नकारात्मक’ मात्र भनेर विभाजन गर्नु उपयुक्त होइन । जीवनका सबै रंग आवश्यक छन्, किनभने हरेक रंगले महिलालाई जीवनको नयाँ पाठ सिकाउँछ, धैर्यता र समझदारी बढाउँछ । 

उमेर बढ्दै जाँदा महिलाले बुझ्छिन् वास्तविक खुसी आन्तरिक शान्ति, आत्मस्वीकृति र जीवनलाई पूर्ण रूपमा अनुभव गर्ने  क्षमतामा हुन्छ । त्यसैले भनिन्छ, दुःखलाई पनि प्रेमले अंगाल, किनभने दुख पनि तिम्रो शिक्षक हो । सुख अनुभवको आधा हिस्सा मात्र हो, सुख र दुःख मिलेर नै जीवनलाई गहिराइ दिन्छ ।

आत्मस्वीकृति र आत्मप्रेम

आत्मस्वीकृति भन्नाले केवल आफ्नो बाहिरी रूपलाई स्वीकार्नु मात्र होइन, आफ्नो भित्री भावनालाई, अनुभवलाई, सफलतासँगै असफलतालाई, कमजोरीसँगै शक्तिलाई पनि स्वीकार्नु हो । जब महिला आफैंलाई पूर्णतस् स्वीकार्छिन्, तब उनले बाह्य सौन्दर्यभन्दा भित्री आभा झल्काउँछिन् ।

आत्मप्रेम अहंकार होइन, बरु आफ्नो अस्तित्वको सम्मान हो । यसरी आत्मप्रेम गर्ने महिलाले आफूलाई दोष दिने, अरूसँग तुलना गर्ने वा निरास हुनुको साटो आफूलाई मूल्यवान् र प्रेमयोग्य ठान्छिन् । यही आत्मस्वीकृतिबाट मानसिक स्वास्थ्य बलियो हुन्छ ।

त्यसैले भनिन्छ, “जब महिला आफैंलाई स्वीकार्छिन्, संसारले पनि उनलाई सम्मान गर्छ ।” उमेर केवल अंक हो । हिउँदपछि वसन्त आएजस्तै जीवनका हरेक चरण नयाँ रङ, नयाँ पाठ र नयाँ सौन्दर्य हुन् ।

प्रेम र संरचना

ओशोका विचारहरू केवल जैविक वा सामाजिक भूमिकासम्म सीमित नभई महिलाको आत्मिक सौन्दर्य, चेतना र स्वतन्त्रताको बारेमा केन्द्रित छन् । उहाँ भन्नुहुन्छ, 'महिला प्रकृतिसँग बढी नजिक छिन्, त्यसैले उनी सहजै प्रेम, करुणा र जीवनसँग तादात्म्य गर्न सक्छिन् ।' 

यस अर्थमा ओशोका लागि महिला केवल समाजको आधा हिस्सा मात्र होइनन्, बरु जीवनलाई सुन्दर बनाउने शक्ति हुन् । यही कारणले उहाँले महिलालाई आत्मस्वीकृति र आत्मप्रेमतर्फ ध्यान दिन आग्रह गर्नुहुन्छ । महिलाले आफ्नो उमेर बढ्दै जाँदा बुझाइ, धैर्य र करुणा बढाउँछिन्, जसलाई ओशोले जीवनको वास्तविक गहिराइ भन्नुभएको छ ।

ओशोले भन्नुभएको छ, “महिलालाई आमा, पत्नी वा छोरीको भूमिकामा मात्र सिमित नगर । उनीहरूलाई स्वतन्त्र व्यक्तित्वका रूपमा स्वीकार गर ।” उहाँका विचारमा, जब महिला स्वतन्त्र हुन्छिन्, तब मात्र पुरुष पनि वास्तवमा स्वतन्त्र हुन्छ । 

उहाँ भन्नुहुन्छ, “महिलाले जीवनमा प्रेम ल्याउँछिन्, पुरुषले संरचना । संरचनाविना प्रेम अधुरो हुन्छ, प्रेमविना संरचना मृत हुन्छ ।” त्यसैले महिला केवल परिवारको रक्षक मात्र होइनन्, समाज र संस्कृतिको आत्मा हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण