नेभिगेशन
सूचना प्रविधि

खुसीका सूचकांकमा डिजिटल लतको चुनौती

काठमाडौं । थुप्रै कठिनाइका बाबजुद नेपाली खुसी छन् । यसको पुष्टि संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०२६’ ले गरेको छ । प्रतिवेदनअनुसार नेपालले आफ्नो स्थितिमा उल्लेखनीय सुधार गर्दै ९९ औँ स्थान ओगट्न सफल भएको छ । अघिल्ला वर्षहरूको तुलनामा नेपालको यो वरीयताले नेपाली समाजमा बिस्तारै खुसीको स्तर बढ्दै गएको संकेत गरेको छ ।
दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको यो स्थान निकै सन्तोषजनक मानिएको छ । गरिबी, बेरोजगारी र राजनीतिक अस्थिरताजस्ता चुनौती भए पनि नेपालीहरूमा देखिएको यो लचकतालाई प्रतिवेदनले सकारात्मक रूपमा व्याख्या गरेको छ । तर, यही प्रतिवेदनले विश्वभरका युवा पुस्ताको खुसी र उनीहरूले प्रयोग गर्ने डिजिटल माध्यमका बारेमा भने एउटा गम्भीर चेतावनी पनि दिएको छ ।
यस वर्षको प्रतिवेदनको एउटा ठूलो हिस्सा सामाजिक सञ्जाल र युवाहरूको मानसिक स्वास्थ्यमा केन्द्रित गरिएको छ । प्रतिवेदनका अनुसार उत्तर अमेरिका र पश्चिमी युरोपमा १५ वर्षअघिको तुलनामा युवाहरू आज निकै कम खुसी छन् । अचम्मको कुरा त के छ भने, ठीक यही अवधिमा सामाजिक सञ्जालको प्रयोग अप्रत्याशित वृद्धि भएको छ ।
जोन एm. हेलिवेल, रिचर्ड लेयार्ड, जेफ्री डी. साक लगायतका विश्व प्रसिद्ध विश्लेषकहरूले यस प्रतिवेदनमा आफ्नो धारणा राख्दै सामाजिक सञ्जालले युवाहरूको ‘वेलबिइङ’ (कल्याण) मा गम्भीर असर पु¥याइरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार युवा पुस्ता, उनीहरूका अभिभावक, शिक्षक र सामाजिक सञ्जाल कम्पनीकै कर्मचारीहरूले पनि यी प्लेटफर्महरूले किशोर–किशोरीको जीवनमा नकारात्मक प्रभाव पारिरहेको स्वीकार गरेका छन् ।
प्रतिवेदनमा समावेश गरिएको ‘पिसा’ अध्ययनले ४७ वटा देशका १५ वर्ष उमेरका किशोर–किशोरीहरूमाथि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको नतिजा डरलाग्दो छ । दैनिक ७ घण्टाभन्दा बढी सामाजिक सञ्जालमा बिताउने युवाहरूको खुसीको स्तर, दिनमा १ घण्टाभन्दा कम चलाउनेहरूको तुलनामा धेरै कम पाइएको छ ।
विशेष गरी पश्चिमी युरोपका छात्राहरूमा यसको प्रभाव झन् बढी छ । त्यहाँका छात्राहरूमा खुसीको स्तर झन्डै १ विन्दु (१० को स्केलमा) ले घटेको देखिएको छ, जुन अन्य क्षेत्रका छात्राहरूको तुलनामा झन्डै दोब्बर हो । छात्रहरूमा पनि खुसीको स्तर घटेको छ, तर छात्राहरूको तुलनामा यो केही कम छ । अमेरिकाका कलेज विद्यार्थीहरूमाझ गरिएको अध्ययनले धेरैजसो विद्यार्थीहरू यी सामाजिक सञ्जालका प्लेटफर्महरू नभइदिए हुन्थ्यो भन्ने चाहेको देखाएको छ तर अरू साथीहरूले प्रयोग गर्ने भएकाले र सामाजिक रूपमा एक्लो परिने डरले गर्दा उनीहरू बाध्य भएर यी माध्यमहरू प्रयोग गरिरहेका छन् ।
क्षेत्रीय भिन्नता र अल्गोरिदमको खेल
प्रतिवेदनले सामाजिक सञ्जालको प्रभाव संसारभरि एकैनासको नरहेको तथ्य पनि उजागर गरेको छ । अंग्रेजी भाषी देशहरू र पश्चिमी युरोप बाहिरका देशहरूमा सामाजिक सञ्जाल र खुसीको सम्बन्ध केही हदसम्म सकारात्मक पनि पाइएको छ । दक्षिण अमेरिकाको तथ्याङ्कले कुन प्लेटफर्मलाई त्यहाँका सर्वसाधारणले कसरी चलाउँछन् भन्ने कुराले उनीहरूको खुसी निर्धारण गरेको पनि पाइएको छ ।
विशेष गरी ‘अल्गोरिदम’मा आधारित फीडहरू र ‘इन्फ्लुएन्सर’हरूले सजाएका सामग्रीहरूले मानिसमा हीनताबोध जगाउने गरेको छ । मध्य पूर्व र उत्तर अफ्रिकामा सामाजिक सञ्जालको प्रयोग उच्च भए पनि त्यहाँका युवाहरूको खुसीको स्तर पश्चिमी देशहरूमा जस्तो ह्वात्तै खस्किएको छैन । यद्यपि, त्यहाँ पनि अत्यधिक प्रयोगकर्ताहरूमा मानसिक तनाव र डिप्रेसनका लक्षणहरू भने देखिएका छन् । प्रतिवेदन भन्छ, ‘दृश्य सामग्री (भिजुअल) बढी हुने र अरूसँग तुलना गर्न बाध्य पार्ने प्लेटफर्महरू सर्वसाधारणका लागि बढी जोखिमपूर्ण छन् ।’
विश्वव्यापी नियमनको लहर
सामाजिक सञ्जालको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्वका धेरै देशहरूले अब कानूनी नियमनतर्फ कदम चाल्न थालेका छन् । सन् २०२५ को डिसेम्बरमा अस्ट्रेलिया सरकारले एउटा ऐतिहासिक निर्णय गर्दै १० वटा प्रमुख सामाजिक सञ्जाल चलाउने न्यूनतम उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पु¥याएको छ । अस्ट्रेलियाको यो कदमपछि डेनमार्क, फ्रान्स र स्पेनजस्ता देशहरूले पनि आफ्ना बालबालिका र युवाहरूलाई जोगाउन यस्तै किसिमका कडा कानूनहरू तर्जुमा गरिरहेका छन् ।
सामाजिक सञ्जाललाई मात्र दोष दिएर पुग्दैन तर यो युवाहरूको मानसिक स्वास्थ्य बिग्रनुको एउटा मुख्य कारण भने पक्कै हो भनी नीति निर्माताहरूलाई यो प्रतिवेदनले सुझाव दिएको छ ।
यता नेपाल खुसी हुने मुलुकहरूको सूचीमा ९९ औँ स्थानमा छ । यो सकारात्मक पक्ष भए पनि नेपालका सहरी क्षेत्रका युवाहरूमा पनि सामाजिक सञ्जालको लत बढ्दो छ । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता माध्यममा नेपाली युवाहरूले बिताउने समय र त्यसले उनीहरूको वास्तविक जीवनको सामाजिक सम्बन्धमा पारेको असरबारे गम्भीर बहस हुनुपर्ने देखाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि
चीनको रोबोट क्रान्ति

चीनको रोबोट क्रान्ति

डिजिटल समाधिको रस्साकस्सी

डिजिटल समाधिको रस्साकस्सी