साहित्यपोस्ट डटकममा मैले लामो समय कविता सम्पादकका रूपमा बिताएँ । म अनिच्छुक भएर आएका कविताहरू हेर्थें र दिक्क मान्दै यस्तो पनि कविता हो भनेर म प्रधानसम्पादक अश्विनी कोइरालासँग दिक्क मान्थें ।
पछि मैले केही कविताका पुस्तकहरू पनि सम्पादन गरें र के बुझें भने कविता शब्दको खेल मात्र होइन । यो त मानव सोचको सबैभन्दा नजिकको अभिव्यक्ति पो रहेछ । अधिकांशतः अवस्थामा मैले शब्दमा ध्यान दिएँ, अभिव्यक्तिमा दिइनँ, त्यही भएर कहिल्यै कविता मन पराइनँ ।
मैले बुझें, कविता कुनै बाहिरी सिर्जनाभन्दा बढी, मनभित्र चलिरहने विचारको प्रत्यक्ष ध्वनि हो । कविता अन्य कला वा कामभन्दा फरक देखिन्छ । खाना पकाउनु, राजनीति गर्नु, विज्ञानमा मग्न रहनु, यी सबै सोचका परिणाम हुन् तर कविता चाहिँ सोचको प्रक्रिया हो । त्यो प्रक्रियालाई कसले कति राम्रोसँग अभिव्यक्त गर्न सक्छ, उति नै राम्रो कविता बन्छ भन्ने मैले पछि बुझें ।
कविता निश्चित नियममा बाँधिदैन । जोन एशबेरीको भनाइअनुसार कविता टाउकोभित्र सधैं चलिरहन्छ र कवि कहिलेकाहीँ त्यसबाट एउटा टुक्रा मात्र लेख्छ । उनको आशय, कवितालाई कुनै तयार वस्तु होइन । यो त लगातार चलिरहने मानसिक प्रवाह हो । यसको ठीक विपरीत जोन किट्सले कविता उच्च, स्मरणीय र गहिरो अनुभव हुनुपर्छ भनेका छन् । यी दुई दृष्टिकोण फरक देखिए पनि यी दुवै कुरा सही हुन् । विपरीतताको यही द्वन्द्वले नै कवितालाई रोचक बनाउँछ ।
मैले जब कवि विनयकुमार भण्डारीको कवितासंग्रह ‘समात्नलाई नरेन्द्रदेवको हाड पाइरहेको छैन’ सम्पादनमा बसें, ती कविताले बुझाए कि वास्तवमा कविता भन्नु यसको अस्पष्टता हो । कहिलेकाहीँ कविताको अस्पष्टताले अनेकौं अर्थ खुलाउँछ । कविता एकै अर्थमा सीमित हुँदैन । एउटा कविताले धेरै अर्थ जन्माउन सक्छ र यही कारणले कविता कहिल्यै पूर्णरूपमा व्याख्या गर्न सकिँदैन । कविताले अर्थ घटाउँदैन, बरू बढाउँछ । ध्वनि, लय र शब्दको संयोजनले नयाँ अनुभूति पैदा गर्छ । जुन कहिलेकाहीँ कवि आफैंले पनि पूर्णरूपमा नियन्त्रण गर्न सक्दैन ।
विश्लेषकहरू भन्छन्, जोन किट्सको कविताको सशक्तता उनको नकारात्मक सबलता हो । अनिश्चितता, रहस्य र शंका उनको सबलता हो र त्यसलाई स्वीकार गर्ने क्षमता उनको कविताकारिताको सशक्तता हो । कविता सधैं स्पष्ट उत्तर खोज्ने कला होइन; बरु प्रश्नसँगै बाँच्ने कला हो । यही कारणले कविता पढ्दा कहिलेकाहीँ बुझ्न गाह्रो हुन्छ तर त्यही कठिनाइ नै यसको सौन्दर्य हो ।
कविता इतिहाससँग सम्बन्धित हुन्छ । कविता सधैं सबैको कला भए पनि, इतिहासमा धेरै समयसम्म शक्तिशाली वर्गका मानिसहरूले लेखेका कविता मात्र प्रसिद्ध भए । धेरै कविता नामबिनै हराए, जसलाई दाइ जर्ज नामक लेखकले ‘एनोन’ भनेका छन् । जुन कविता इतिहाससँग जोडिएर रहे, ती लामो समयसम्म जीवित रहे । जुन जोडिन सकेनन्, ती हराए । कविता पुस्तकमा छापिएका शब्द मात्र होइनन्, लोकगीत, कथा, लोरी र बोलिने परम्परामा पनि जीवित रहेका भाव पनि कविता हुन् ।
कविहरू सधैं महान् वा आदर्श व्यक्ति हुँदैनन् । उनीहरू सामान्य मानिसजस्तै कमजोर, अस्थिर, कहिलेकाहीँ विवादास्पद पनि हुन्छन् । तर उनीहरूको विशेषता के हो भने उनीहरू संसारलाई अरूले भन्दा फरक तरिकाले देख्छन् । यही फरक दृष्टि कविताको जन्म हो । कविता कुनै जटिल विधा होइन, मानव चेतनाको खुला क्षेत्र हो भन्ने सन्देश दाइ जर्ज आफ्नो पुस्तक ‘हाउ टु थिंक लाइक अ पोएट’ पुस्तकले दिन्छ । कविता पवित्र पनि हो, साधारण पनि हो । यसले गहिरो भावना पनि समेट्छ र क्षणिक विचार पनि दिन सक्छ । त्यसैले कविता बुझ्ने सबैभन्दा राम्रो तरिका नियम खोज्नु होइन, बरु कवितालाई अनुभव गर्न तयार हुनु हो ।
आज विश्व कविता दिवस हो । यो दिवस कविताको सामथ्र्य बुझाउने दिवस हो । यो सामथ्र्य तपाईंहरू पनि बुझ्नुहोस् । जसरी मैले कविताहरूलाई मन नपराएर कविताबारे बुझें, व्यक्त भएका शब्दहरूबीचको अव्यक्तता बुझ्ने प्रयास गरें, त्यसैगरी तपाईंहरूले पनि बुझ्न सक्नुहोस् ।